गठबन्धन नगरी चुनाव जितेर देखाउन आफ्नै नेतृत्वलाई पौडेलको चुनौती

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा गठबन्धन नगरे कांग्रेस सकिन सक्ने बताएका छन् । गठबन्धन चाइदैन भन्ने नेतालाई एक्लै चुनाव जितेर देखाउन पनि पौडेलले चुनौति दिए ।

आफ्नै पार्टीका नेताहरु तर्फ फर्कदै नेता पौडेलले ‘चुनाव पछि कांग्रेस इति श्री हुने हो ?’ भन्दै प्रश्न गरेका छन् । कांग्रेस जस्तो पार्टीले चुनाव लड्नका लागि मात्र लड्ने हो की जित्नका लागि पनि लड्ने भन्ने हो’ उनले भने ।

गण्डकी प्रदेश समितिको कार्यालय पोखरामा उद्याटन गदै नेता पौडेलले गठबन्धनको निरन्तरताको पक्षमा मन्तब्य मात्र दिएनन् गठबन्धनको आवश्यकता छैन भन्ने नेताहरुलाई आफ्नौ हैसियत सम्झन पनि आग्रह गरे ।

नेता पौडेलले कांग्रेस वाहेकको गठबन्धन रोक्न पनि अहिलेको गठबन्धनलाई निरन्तरता दिनुपर्ने तर्क गरे ।

‘आजको यथार्थ भनेको ३० प्रतिशत मत कांग्रेससंग छ । ७० प्रतिशत मत कांग्रेस वाहेकसंग छ । ७० प्रतिशतसंग ३० प्रतिशतसंग एक्लै हिड्छु भन्यो भने के हुन्छ ?’ उनले पश्न गरे ।

बरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष केपी ओलीको वेगलाई रोक्न पनि गठबन्धन चाहिएको बताए । गठबन्धन बनाउँदा कांग्रेसलाई फाइदा नै फाइदा रहेको टिप्पणी गरे ।

गठबन्धन बनाएकै कारण कांग्रेसले केन्द्री सरकारको नेतृत्व गर्न पाएको र प्रदेशहरुमा समेत नेतृत्व गर्न पाएको तथ्य नविर्सन उनले आग्रह गरे । साथै राष्ट्रिय सभा निर्वाचनमा समेत आफ्नो पार्टीका तीन सिट खाली भएकामा ६ सिट जित्न गठबन्धनकै कारण सफल भएको उनले पार्टी नेतृत्वलाई स्मरण गराए ।

‘हाम्रा साथीहरु गठबन्धन गर्न हुन्न हुन्न भन्छन् । म सोध्न चाहन्छु गठबन्धन नभएको भए के केन्द्रमा हाम्रो नेतृत्वमा सरकार बन्थ्यो ? प्रदेशहरुमा बन्थे ? राष्ट्रिय सभामा हाम्रो तीन सिट खालि भएको थियो । के गठबन्धन नभएको भए त्यसको रक्षा गर्न र अझ तीन सिट थपेर ६ सिट बनाउन सक्थ्यौं ?’ उनले प्रश्न गरे ।

  • २३ माघ २०७८, आईतवार १५:४० प्रकाशित