मानवसेवा आश्रमको महायज्ञबाट झण्डै ४ करोड संकलन

केन्द्रभाग मिडिया

पोखरा।
मानवसेवा आश्रमले श्रीमद्भागवत सप्ताह ज्ञान- विज्ञान महायज्ञ २०८३ को आयव्यय विवरण सार्वजनिक गरेको छ ।

आयोजक आश्रमले आज पत्रकार सम्मेलनको आयोजना गर्दै गत वैशाख १९ गतेदेखि २६ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा सम्पन्न गरेको महायज्ञको आय व्यय विवरण सार्वजनिक गरेको हो ।

एक सातासम्म चलेको महायज्ञबाट झण्डै ४ करोड रुपैयाँ संकलन भएको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।महायज्ञबाट कुल ३ करोड ८१ लख ७१ हजार ७ सय ७१ रुपैयाँ ५३ पैसा संकलन भएको महायज्ञ मुल आयोजक समिति संयोजक अनित कुमार शाहीले जानकारी दिए ।

संयोजक शाहीको अनुसार उक्त रकम नगद, चेक, क्युआर तथा अनलाइन माध्यमबाट प्राप्त दान, व्यक्ति तथा संस्थागत प्रतिवद्धता, स्थानीय तहबाट प्राप्त सहयोग, जिन्सी सहयोग, दानपेटिका, गोप्यदान तथा बिक्रेताबाट प्राप्त छुट रकम समावेशसहितको हो ।

महायज्ञ सञ्चालनका लागी ७७ लाख १२ हजार ५ सय ८७ रुपैयाँ ५२ पैसा खर्च भएको संयोजक शाहीले बताए ।३ करोड ४५ लाख ९ हजार १ सय ८४ रुपैयाँ बचत भएको पत्रकार सम्मेलनमा आयोजक मानव सेवा आश्रमले जनाएको छ ।

महायज्ञमा नगद, चेक, क्युआर अनलाइन माध्यमबाट मात्र २ करोड २४ लाख ७९ हजार १ सय ६३ रुपैयाँ प्राप्त भएको जानकारी दिइएको छ ।
व्यक्तिगत, संस्थागत प्रतिवद्धता र स्थानीय तहबाट १ करोड ४४ लाख ४ हजार ८ सय ५४ रुपैयाँ प्राप्त भएको बताइएको छ ।

यस्तै दानपेटिकामा ४ लाख २२ हजार ५ सय ७३, ब्याजबाट २६ हजार ६ सय ७, गोप्यदानबाट ११ हजार ६ सय १० र छुट प्राप्त रक ९ हजार ५ सय ६९ रुपैयाँ रहेको छ ।

मानवसेवा आश्रम हेमजा शाखाको निर्माणाधीन भवन निर्माण गर्न, लक्ष्मीनारायण मन्दिर, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा आश्रमको अक्षयकोष वृद्धि गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।

मानव सेवा आश्रमले सहयोगापेक्षी मानवलाई संरक्षण प्रदान गर्दै आइरहेको छ । आश्रमको हेमजा र छोरेपाटन शाखामा हाल ८६ महिला, १६२ पुरुष, ५ जना बालक र ४ जना बालिका गरी २५४ जना संरक्षणमा रहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

अध्यक्ष अधिकारीको अनुसार उनीहरुको संरक्षण, भोजन, स्वास्थ्य सेवा तथा अन्य आधारभूत व्यवस्थापनको लागि मासिक करिब १९ लाख रुपैयाँ खर्च हुदै आएको छ ।

२०६९ साल भदौ १३ गते मकवानपुरको हेटौंडाबाट सेवा सुरु गरेको मानवसेवा आश्रमले हाल सातै प्रदेशका २३ जिल्लामा ३४ वटा शाखा विस्तार गरि मानव सेवा प्रदान गर्दै आइरहेको छ ।

  • १८ श्रावण २०८३, सोमबार १७:०६ प्रकाशित