काठमाडौं ।
दाइजो कुप्रथा, महिला हिंसा र लैङ्गिक असमानताविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ ‘महिला शक्ति जागरण अभियान’ सुरु गरिएको छ।
कल्किजम रिसर्च सेन्टरले आइतबार काठमाडौंस्थित संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गरी नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीको उपस्थितिमा ‘कल्कि वुमन’अन्तर्गत उक्त अभियानको शुभारम्भ गरेको हो। कार्यक्रममा ‘कल्कि कानुन’ र ‘कल्कि करेन्सी’ अभियानमार्फत सामाजिक सुधारका विभिन्न प्रस्ताव पनि सार्वजनिक गरिएको थियो।
कार्यक्रममा बोल्दै नायिका रेखा थापाले नेपालमा अझै पनि महिलाहरू अधिकारबाट वञ्चित रहेको उल्लेख गर्दै महिलाको सशक्तीकरणका लागि अभियान प्रभावकारी बन्ने विश्वास व्यक्त गरिन्। उनले विदेशमा अध्ययन र काम गरेर स्वदेश फर्किएका कल्किजम रिसर्च सेन्टरका संस्थापकले महिला अधिकारका पक्षमा अभियान सञ्चालन गर्नु सकारात्मक पहल भएको बताइन्।
मिस नेपाल उषा खड्गीले दाइजो, महिला हिंसा र लैङ्गिक असमानताविरुद्ध व्यापक जनचेतना फैलाउन तथा कानुनी सुधारका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। उनले अभियानलाई राष्ट्रिय बहसको विषय बनाउन सञ्चारमाध्यम, नागरिक समाज र सरोकारवालाको सहयोग आवश्यक रहेको बताइन्।
कल्किजम रिसर्च एन्ड ट्रेनिङ सेन्टरका अध्यक्ष डा। उमाशंकर प्रसादले पूँजीवाद, साम्यवाद र समाजवादको विकल्पका रूपमा ‘कल्किवाद ९कल्किजम०’ अघि सारिएको दाबी गर्दै यसले सामाजिक न्याय र समानताको नयाँ अवधारणा स्थापित गर्ने बताए।
संस्थापक ‘मिस्टर ६६६’ले अभियानको मुख्य उद्देश्य नेपाललाई दाइजो कुप्रथामुक्त राष्ट्र बनाउनु रहेको बताए। उनले तीन वर्षभित्र दाइजो प्रथाको अन्त्य, महिलाको सुरक्षा र अधिकारलाई कानुनी रूपमा थप सुदृढ बनाउने तथा सामाजिक न्यायका विषयमा राष्ट्रिय बहस सिर्जना गर्ने लक्ष्य रहेको जानकारी दिए।
उनले विवाहमा केटा र केटी पक्षले समान खर्च गर्ने कानुनी व्यवस्था, बारकोडयुक्त ‘कल्कि करेन्सी’ लागू गरी नेपाललाई पूर्ण रूपमा नगदरहित ९क्यासलेस० अर्थतन्त्रतर्फ लैजाने तथा प्रत्येक परिवारका लागि छुट्टै डिजिटल करेन्सी प्रणाली विकास गर्ने प्रस्ताव पनि अघि सारे।













