काठमाडौं ।
सुनसरीमा नेपाली सेनाले हवाई गस्ती गरेको छ । देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र आसपासको अवस्था तनावग्रस्त बनेपछि सेनाले हवाई गस्ती गरेको हो ।
सुरक्षा अवस्था र वस्तुस्थिति बुझ्न सेनाले आफ्नो तर्फबाट गस्ती गरिरहेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले बताए । उनका अनुसार बुधबार अहिलेसम्म सुनसरी क्षेत्र शान्त रहेको छ ।
कर्फ्यु आदेश जारी भएसँगै नेपाली सेना परिचालन भएर फिल्डमा खटिएको थियो । बुधबार हवाई गस्ती पनि गरेसँगै पैदल र हवाई दुवैमार्फत सेनाले शान्ति सुव्यवस्था कायम गर्ने प्रयास गरेको उनले बताए ।
यता प्रहरीले पनि ड्रोनमार्फत कप्तानगञ्जको वस्तुस्थिति बुझ्ने काम गरेको छ ।देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको विवादपछि स्थिति नियन्त्रणमा लिन भन्दै सुरक्षाकर्मीले चलाएको गोलीबाट कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको आइतबार राति ज्यान गएको थियो ।
एउटा पक्षले झण्डा नहटाएको र अर्को पक्षले चर्को आवाजमा डिजे बजाएको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको र स्थिति नियन्त्रणमा लिने क्रममा हवाई फायर गर्दा एक जनाको ज्यान गएको दाबी सुरक्षा निकायको छ ।
एक जनाको मृत्यु र ९ सर्वसाधारण घाइते भएपछि तनाव बनेको सुनसरी मंगलबार साँझ फेरि झडपमा परिणत भएको थियो । मंगलबार तोडफोड, आगजनी, झडप भएको सुनसरी अहिले भने शान्त बन्दै गएको बताइएको छ ।












