सुनसरीमा सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति

केन्द्रभाग मिडिया

विराटनगर ।

सुनसरीको देवानगञ्जमा भएको दुई समूहको झडपपछि उग्र बनेको अवस्था नियन्त्रण गर्दै सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएको छ ।

आइतबारको झडपपछि सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति-सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने सहमति गरेको हो ।

सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन र गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सहयोग गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा भएको बैठकमा राजनीतिक दल र जनप्रतिनिधिहरूले अफवाहबाट टाढा रहन र सुरक्षा निकायलाई सहयोग गर्न सहमति जनाएका हुन् ।

सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार सामाजिक सदभाव र शान्ति सुरक्षा कायम गर्नका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्ने निर्णय भएको छ ।

निर्णयपछि जनप्रतिनिधि र सामाजिक र धार्मिक अगुवाहरुले सामाजिक सदभाव कायम गर्नका लागि पहल सुरु गरिसकेको बताए ।आइतबार राति बोलबम यात्राका क्रममा डिजे बजाउने विषयमा भएको विवादले हिंसात्मक रूप लिँदा सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो ।

झडपमा १३ जना सुरक्षाकर्मी र ९ जना सर्वसाधारण घाइते भएका छन् ।

  • ११ श्रावण २०८३, सोमबार १६:५० प्रकाशित