काठमाडौं ।
सुनसरीमा धार्मिक सद्भाव भड्किदाँ कर्फ्युबीच स्थिती तनावग्रस्त बनेको छ । कर्फ्युको उल्लंघन गर्दै भएको प्रर्दशनमा प्रदर्शनकारीले सुनसरी देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा मोटरसाइकल जलाएका छन् ।
सुरक्षाकर्मीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको ज्यान गएपछि आक्रोशित समूहले वडा नम्बर–३ का अध्यक्षको घरमा गएर मोटरसाइकलमा आगजनी गरेका हुन् । आगजनी गर्नेहरूलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
हिन्दु र मुस्लिम समुदायको बिचमा भएको झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मी चलाएको गोली लागेर मेहताको ज्यान गएको हो । उनको शव विराटनगरस्थित न्युरो अस्पतालमा राखिएको छ । उनलाई १ गोली लागेको सुनसरीका एक जना सुरक्षा अधिकृतले बताए । सो घटनामा थप दुई जना गम्भीर घाइते छन् । उनीहरूलाई पनि गोली लागेको बताइएको छ । गम्भीर दुई जनाको विराट नर्सिङ होममा उपचार हुँदैछ ।
कप्तानगञ्ज घटनापछि स्थानीय प्रशासनले ४ वटा बजार क्षेत्रमा कर्फ्यु लगाएको छ । हरिनगरा बजार, घुटाहा बजार, कप्तानगंज, घुस्की र देवानगंज बजार क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
त्यस्तै, दुई वटा गाउँपालिकामा स्थानीय प्रशासनले ५ जनाभन्दा बढी मानिस भेला हुने नदिने गरी निषेध आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सुनसरीको हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकामा निषेध आदेश जारी गरेका हुन् ।
झडप नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीका १० जना सुरक्षाकर्मी घाइते भएका सशस्त्र प्रहरी बलका एक जना अधिकृतले बताए । कप्तानगञ्जस्थित मन्दिरमा ठुलो स्वरमा डिजे बजाएको विषयमा हिन्दु र मुस्लिमको बिचमा विवाद सुरु भएको थियो । त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झन्डा हटाएर हिन्दुको झन्डा राखेको विषयमा विवाद थप चर्किएको सुरक्षा अधिकारीहरू बताउँछन् ।













