दुई समुदायबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

केन्द्रभाग मिडिया

विराटनगर ।

सुनसरीमा दुई समुदायबीचको झडपपछि ५ स्थानमा अनिश्चितकालीन कफ्यु लागेको छ । देवानगञ्ज गाउँपालिका(३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुनसरीको दक्षिण क्षेत्रमा रहेका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेका हुन् । कर्फ्यू बिहान ७ बजेदेखि लागू भएको छ । कर्फ्यु जारी भएको समयमा हिँडडुल गर्न भेला, जुलुस, सभा गर्न रोक लगाइएको छ ।

आइतबार राति दुई समूहबीच विवाद हुँदा प्रहरीले चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो । प्रहरीको गोली लागेर ८ जना प्रदर्शनकारी घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ ।

आइतबार राति युवाहरूको एक समूह डिजे बजाउँदै साउने सोमबारको बोलबम यात्राका लागि सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै अवरोध गर्न खोजेपछि दुई पक्षबीच विवाद सुरु भएको थियो । दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत हुँदै हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन राति प्रहरीले गोली चलाएको थियो ।

थप दुर्घटना हुन नदिन स्थानीय प्रशासनले सुनसरीको दक्षिण क्षेत्रमा पर्ने हरिनगरा बजार क्षेत्र, भुटाहाको बजार क्षेत्र, कप्तानगन्जको बजार क्षेत्र, घुस्कीको बजार क्षेत्र र देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

हरिनगरा बजार क्षेत्रको पूर्वतर्फ नूनिया टोल, पश्चिम तर्फ खुनिया धार, उत्तर तर्फ हरिनगर गापा कार्यालय र दक्षिण तर्फ बसन्तपुर मोडसम्म कर्फ्यु जारी भएको छ ।

भुटाहा बजार क्षेत्रको पूर्व तर्फ मोरीया धार खोला, पश्चिम तर्फ इदगाहा फिल्ड, उत्तर तर्फ सुनसरी खोला र दक्षिण तर्फ हरिनगर गापा कार्यालयसम्म कर्फ्यु छ ।

कप्तनगंज बजार क्षेत्रको पूर्व तर्फ यादव टोल, पश्चिम तर्फ पाँचौ सिमल मावि, उत्तर तर्फ कृष्ण मावि र दक्षिण तर्फ नेपाल( भारत सीमा क्षेत्रसम्म कर्फ्यु जारी भएको छ ।

घुस्की बजार क्षेत्रको पूर्व तर्फ कासमिया मदरसा, पश्चिम तर्फ प्रहरी चौकी घुस्की, उत्तर तर्फ इशा हार्डवेयर र दक्षिण तर्फ हिलाल पब्लिक स्कुलसम्म कर्फ्यु लागेको छ ।

देवानगंज बजार क्षेत्रको पूर्वतर्फ विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिम तर्फ मोरीया खोला, उत्तर तर्फ चिउरा मिल र दक्षिण तर्फ गाउँपालिकाको कार्यालयसम्म कर्फ्यु आदेश जारी भएको हो ।

  • ११ श्रावण २०८३, सोमबार १०:५२ प्रकाशित