काठमाडौं।
गए रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गको धादिङ तथा चितवन खण्ड सुचारु भएको छ ।
नागढुंगा–मुग्लिङ सडक योजनाका अनुसार विभिन्न स्थानमा खसेका साना तथा ठुला पहिरो पन्छाएपछि आइतबार बिहान ११ः०० बजेदेखि यातायात दुईतर्फी रूपमै सुचारु भएको हो ।
शनिबार रातिदेखिको अविरल वर्षाका कारण जोगीमारा, जवाङ खोला, फिस्लिङ, चुम खोला लगायतका करिब एक दर्जन स्थानमा ढुङ्गा र लेदोसहितको पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
अवरोध खुलाउन सडक योजनाका तर्फबाट रातिदेखि नै एक्स्काभेटर, लोडर र टिपर जस्ता आवश्यक मेशिन तथा उपकरणहरू परिचालन गरिएको थियो ।
निरन्तरको प्रयासपछि आज बिहान ११ः ०० बजे सडकमा थुप्रिएको सम्पूर्ण पहिरो पन्छ्याउन प्राविधिक टोली सफल भएको जनाएको छ । हाल नारायणगढदेखि काठमाडौँसम्मको सम्पूर्ण सडक खण्ड सामान्य अवस्थामा सञ्चालनमा आइसकेको योजना कार्यालयले जनाएको छ ।













