आज साउनको पहिलो सोमबार : देशभरका शिवालयमा भक्तजनको घुइँचो

पोखरामा बोलबम पदयात्रा

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज यस वर्षको साउनको पहिलो सोमबार । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, पोखराको केदारेश्वर, विन्दवासीनी लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ।

बिहान ३स्०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिएका छन्। साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएका छन्।

पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन र विशेष पूजाको व्यवस्था मिलाइएको छ। पदाधिकारीको नियुक्ति नै ढिला भएकाले र कोषमा जनशक्ति पनि कम भएकाले आवश्यकताअनुसार भने काम गर्न नसकिएको सदस्य सचिव श्रेष्ठले स्वीकार गरेका छन्।

दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक सङ्घ(संस्थाको विशेष सेवा एवं सहभागिता रहने जनाइएको छ। लाखौँ श्रद्धालु भक्तजनलाई सहज र मर्यादित वातावरणमा दर्शन र पूजा गराउने गरी तयारी गरिएको छ।

बिहान ३:०० बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि ८:०० बजेसम्म भक्तजनका लागि खुला रहनेछन्। विशेष पूजा भने बिहान ८स्३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र हुनेछ। मन्दिर प्रवेशका लागि चार वटा लामको व्यवस्था गरिएको छ। बिहानैदेखि भक्तजन आए पनि लाम भने धेरै लामो नभएको कोषले जनाएको छ।

पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ।पोखरामा यसवर्ष पनि बोलबम पदयात्रा आजबाट सुरु भएको छ । विगत २५ वर्षदेखि हुदै आएको बोलबम पदयात्रा यस वर्ष पनि वृहत रुपमा सुरु भएको हो ।

यसवर्ष बोलबम यात्राको २५ औं वर्ष अर्थात् रजत जयन्तीको अवसरमा विशेष कार्यक्रम समेत सञ्चालन हुने केदारेश्वर महादेवमणि सेवाश्रम तथा केदारेश्वर वैदिक गुरुकुल समितिका अध्यक्ष एवम पिठाधीश डाक्टर चित्घन चैतन्य महाराजले जानकारी दिए ।

श्रावण महिनाको हरेक सोमबार केदारेश्वर मन्दिरमा भक्तजनको भिड लागे पनि बोलबम पैदल जलयात्रामा भक्तजन सहभागिता कम हुने गरेको उनले बताए । संस्कृति, संस्कारलाई पुस्तान्तरणका लागि घरघरबाट आफ्ना बाबुनानी सहित कम्तीमा एउटा सोमबार भए पनि जलयात्रामा सहभागी हुन आम नागरिकलाई उनले आव्हान गरेका छन।

बगरको गाइघाटस्थित १०८ धारामा स्नान गरेर सुरु हुने बोलबम यात्रा आठ किलोमिटर पैदलयात्रा सहित केदारेश्वर महादेवमणि बोलबम धाममा जलार्पण गरिने केदारेश्वर महादेवमणी बोलबम कार्यक्रमका संयोजक तथा विश्व हिन्दु महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शंकर खरालले बताए ।

केदारेश्वर महादेवमणि सेवाश्रम समितिले यसवर्ष श्रावण महिनाको बोलबम पदयात्रालाई वृहत र थप व्यवस्थित बनाउन तयारी स्वरुप मन्दिर व्यवस्थापन समिति, आजीवन सदस्य, सल्लाहकार एवं विभिन्न संघ सस्थासंग पुर्वतयारी वैठक स्वरुप भेलाको आयोजना गरेको हो ।

  • ४ श्रावण २०८३, सोमबार ११:४६ प्रकाशित