काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई अझै धेरै एक्ल्याउने प्रयास भइरहेको बताएका छन् ।
साथै, उनले एमाले अरू कसैको लहरोमा मात्रै अघि बढ्ने पार्टी नभएको दाबी समेत गरे ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
आफूहरूले धक्का आएको भए पनि सिद्दिएकै अवस्था भने नभएको ओलीको भनाइ छ ।
‘हामीले धक्का खाएका छौं । धक्का खाएको हो, सिद्दिएको होइन । हामी नवीकृत भएर अघि बढ्नेछौं भन्ने कुराको संकेत यो हो,’ ओलीले भनेका छन्, ‘हामीलाई एक्लाउने प्रयासहरू अझै बढी निरन्तर अघि बढिरहेकै छन् । एक्ल्याउने प्रयास अघि बढिरहेका छन् ।’
आँधी, हुरी, तुफान, बाढी लगायत धेरैसँग सामना गर्दै आएको पार्टी एमाले भएको बताउँदै उनले कसैलाई नसमाति अघि बढ्नै नसक्ने भने नहुने जिकिर गरे ।
‘हामी यस्तो लहरो होइन, जसले अर्कालाई नसमातिकन उठ्नै सक्दैन । हामी एउटा स्वतन्त्र वृक्ष हौं । दह्रो, मजबुत र विशाल वृक्ष हो । अरुको बलमा उभिएका पनि होइन,’ उनले भने, ‘आफैं हुर्किंदै, आँधी हुरी तुफान बाढी अनेक चिजहरूसँग सामना गरेर आएका छौं । तर, अर्को कसैलाई नसमातिकन उठ्नै नसक्नेखालको त्यान्द्रो होइन, एमाले । एमाले आफू एउटा स्वतन्त्र हैसियत भएको पार्टी हो ।’
उनले आफ्नै बलमा फेरि पार्टी नवीकृत हुँदै अघि बढ्ने बताए ।
‘त्यसकारण कतिबेला कहाँनिर छ, त्यो परिस्थितिले गर्ला । तर, हामी आफैं यहाँसम्म आएका हौं । आफैं आफ्नै खुट्टामा उभिएका हौं,’ ओलीले भने, ‘फेरि पनि आफ्नै बुतामा नवीकृत हुँदै अघि बढ्छौं । चुनौतीहरूको सामना गर्न र तीनलाई पराजित गर्दै अघि बढ्छौं ।’
नेकपा एमाले परिस्थितिसँग नआत्तिने पनि जिकिर गरे ।













