पोखरा बसपार्कका सुकुम्बासीको प्रारम्भिक नामावली साउन २ गते सार्वजनिक हुने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा बसपार्क भित्र बसोबास गर्ने सुकुमबासी र अव्यवस्थित बसोबासीको प्रारम्भिक नामावली साउन २ गते सार्वजनि हुने भएको छ ।

महानगरपालिका प्रमुख (मेयर) धनराज आचार्यले बसपार्कका सुकुम्बासीको व्यवस्थापन र बसपार्क क्षेत्र खाली गर्ने प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्दै साउन २ गते सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रारम्भिक नामावली सार्वजनिक हुने जानकारी दिएका छन् ।

नामावली सार्वजनिक भएपछि सुकुमबासी र अव्यवस्थित बसोबासीलाई सुझाव, दाबी र विरोध जनाउन ७ दिनको समय दिइने महानगर प्रमुख आचार्यले जारीको गरेको कार्यतालिकामा उल्लेख गरिएको छ । ७ दिने अवधि सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने बताइएको छ । अन्तिम नामावलीका आधारमा यथाशीघ्र स्थानान्तरण गरिने स्थान देखाइने कार्यतालिकामा उल्लेख छ । स्थान देखाएको मितिले ७ दिनभित्र सम्बन्धित बस्ती खाली गर्ने प्रक्रिया सुरु गरिनेछ ।

आज र १ साउन भोलि वास्तविक घरधुरी विवरण र प्रतिवेदनको तथ्यांक भिडान अर्थात ट्याली गरिने महानगरपालिकाले जनाएको छ । सुकुम्बासी समस्या सहजीकरण समितिसँग पनि प्रतिवेदनबारे छलफल गरी जानकारी दिने महानगरपालिकाले बताएको छ ।

महानगरपालिकाले बसपार्क क्षेत्रमा बसोबास गर्ने वास्तविक सुकुम्बासी पहिचान गर्न जेठ १२ गते तीनवटा छुट्टाछुट्टै समिति गठन गरेको थियो । प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीको संयोजकत्वमा सुकुम्बासी समस्या सहजीकरण समिति गठन गरिएको थियो । समितिले महानगरपालिकामा सुकुम्बासीका रूपमा निवेदन दिएका ५७२ जनाको दाबी छानबिन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको थियो ।

समितिलाई सुरुमा १० दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको थियो । छानबिन र अध्ययनको काम नसकिएपछि समितिको म्याद असार १७ गतेसम्म थपिएको थियो । सोही समितिले महानगरपालिकालाई प्रतिवेदन बुझाएको थियो।

बसपार्कको उत्तरी भेग र सुकुम्बासी बस्तीभन्दा पश्चिमतर्फको दक्षिणी क्षेत्रमा भने महानगरपालिकाले डोजर चलाइसकेको छ । बास्तोला कम्प्लेक्सका ३२० र अन्य सटरका २०० गरी हालसम्म ५२० संरचना हटाइसकिएको छ ।

  • ३२ असार २०८३, बिहीबार १६:५२ प्रकाशित