काठमाडौं ।
सरकारी कर्मचारीको बढेको तलब भोलि साउन १ गतेदेखि कार्यान्वयनमा आउने भएको छ ।
सरकारले बजेट मार्फत गरेको निजामती र सार्वजनिक सेवामा रहेका कर्मचारीको तलब बढाउने घोषणा १ साउन शुक्रबारदेखि कार्यान्वयनमा आउने भएको हो ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस्तो घोषणा गरिएको थियो । बजेट मार्फत कर्मचारीको आधारभूत तलब १० प्रतिशतले बढ्ने घोषणा गरिएको थियो ।
साथै, बजेटमा कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणाली सुरुवात गर्न नयाँ तलबमानको मासिक १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । यी दुई व्यवस्था मार्फत कुल २१ प्रतिशत पारिश्रमिक बढ्दै छ ।
अहिले ७७ हजार २ सय ११ रुपैयाँ आधारभूत तलब पाएका मुख्यसचिवको तलब बढेर ८४ हजार ९ सय ३२ रुपैयाँ पुगेको छ । त्यसमा १० प्रतिशत प्रोत्साहन भत्ता र यसअघिको महँगी भत्ता थपिँदा कुल मासिक पारिश्रमिक ९८ हजार ४ सय २५ रुपैयाँ पुग्ने छ । मुख्यसचिवको आधारभूत तलब करिब साढे ७ हजार रुपैयाँ बढेको छ भने सचिवको ७ हजार रुपैयाँजति बढेको छ ।
सबैभन्दा तल्लो तह मानिने कार्यालय सहायकको तलब २७ हजार ६ सय ११ रुपैयाँ रहेकोमा अब बढेर ३० हजार ३ सय ७२ रुपैयाँ पुगेको छ । अब उनीहरूले यसअघिकै ५ हजार रुपैयाँ महँगी भत्ता निरन्तर पाउनेछन् भने करिब ३ हजार प्रोत्साहन भत्ता पाउनेछन् । सबैभन्दा तल्लो तहका कर्मचारीको आधारभूत तलब ३८ हजार ४ यस ९ पुग्ने छ ।
पेन्सन पाउने कर्मचारीले आधारभूत तलबमा बढेको दुई तिहाइ हिस्सा मात्रै थपेर पाउनेछन् । त्यसरी हेर्दा पूर्वमुख्यसचिवहरूको पेन्सन करिब ५ हजार रुपैयाँ हाराहारीले बढेको छ भने अवकाश पाएका कार्यालय सहयोगीहरूको तलब उनीहरूको सेवा अवधि र त्यसले तय गर्ने आधारभूत तलब ९स्केल० अनुसार बढ्ने छ ।












