बुटवल ।
नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकारबाट पनि कांग्रेस बाहिरिने भएको छ ।
लुम्बिनीमा नेकपा एमालेका चेतनारायण आचार्य नेतृत्वमा कांग्रेससहितको सरकार छ । पार्टी केन्द्रको निर्णयअनुसार बिहीबार कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी पाँच मन्त्रीलाई राजीनामा गराउने तयारी गरेको छ ।
यसको औपचारिक निर्णयका लागि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सरकारमा सहभागी पाँच मन्त्री, प्रमुख सचेतक र सचेतकलाई दाङ बोलाएका छन् ।
‘पार्टी केन्द्रको निर्णय कार्यान्वयनका लागि संसदीय दलका नेताले मन्त्रीहरू, प्रमुख सचेतक र सचेतकलाई दिउँसो ३ बजे बैठक बस्ने गरी दाङ बोलाएको प्रमुख सचेतक जमुना ढकालले जानकारी दिइन् ।
हाल लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी छन् ।
सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले भने केन्द्रमा एमालेसँग कुरा मिल्न सक्ने भएकाले तत्काल मन्त्री पदबाट राजीनामा नदिन आफ्नो दलका नेतालाई मुख्यमन्त्री चेतनारायण आचार्यले आग्रह गरेको बताए ।
तर, पार्टीले निर्णय गर्नेबित्तिकै आफूहरू राजीनामा दिन तयार रहेको उनले बताए ।नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का प्रमुख सचेतक इन्द्रजित चौधरीले कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा सरकार अल्पमतमा पर्ने र त्यस्तो अवस्थामा नेकपा निर्णायक बन्ने बताए ।













