गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा प्राडा न्यौपाने नियुक्त

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा लोकसाहित्यका विज्ञ प्राडा कुसुमाकर न्यौपाने नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकारले लामो समयदेखि रिक्त रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानको नेतृत्व र सदस्यहरू नियुक्त गर्दै प्राज्ञ सभालाई पूर्णता दिएको हो । प्रतिष्ठानको उपकुलपतिमा शंकर विरही गुरुङ र सदस्य–सचिवमा मन कुमार श्रेष्ठ नियुक्त भएका छन् ।

प्राज्ञ सभा सदस्यका लागि विभिन्न विधाका २४ जना व्यक्तित्वहरूलाई मनोनयन गरिएको छ । जसमा साहित्य, संगीत, संस्कृति, लोकसाहित्य, चित्रकला, मूर्तिकला, चलचित्र र लोकदोहोरी जस्ता सिर्जनात्मक क्षेत्रका विज्ञहरू समेटिएका छन् । सोही २४ जना मध्येबाट गुरुङ उपकुलपति र श्रेष्ठ सदस्य सचिव बनेका हुन् ।

गण्डकी प्राज्ञ प्रतिष्ठान ऐन, २०७६ को कानूनी प्रावधानमा टेक्दै सिफारिस समितिको सिफारिसका आधारमा प्रदेश सरकारले उनीहरुलाई नियुक्ति गरेको हो । ऐनको दफा ७ र ८ भएको व्यवस्था बमोजिम नियुक्त भएका पदाधिकारी तथा सदस्यहरूको कार्यकाल चार वर्षको रहनेछ ।

  • २३ असार २०८३, मंगलवार १९:५० प्रकाशित