कर्णालीमा खसेको फोर्स गाडीको खोजी जारी, गोताखोर परिचालन

केन्द्रभाग मिडिया

गाडी खसेको स्थान

सुर्खेत ।

दैलेखको साङ्गेतडामा कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुको खोजी शुक्रबार बिहानदेखि जारी गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर बिहान ८ बजेदेखि खोजीमा परिचालन भएका छन्। बिहीबार पाँच घण्टासम्म खोजी गर्दा गाडी र यात्रु फेला नपरेपछि आज पुनः खोजी थालिएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार नदीको जलसतह बढ्नुका साथै बहाव तीव्र, पानी धमिलो र घटनास्थलसम्म पुग्न कठिन भएकाले उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ। अछामतर्फबाट खोजी भइरहेको उनले बताए। दुर्घटनापछि भिरमा अचेत अवस्थामा फेला परेका एक पुरुषलाई उद्धार गरी अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।

खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ। प्रहरीका अनुसार सुर्खेतबाट छुट्दा तीन, दैलेखको डुङ्गेश्वरबाट दुई यात्रु तथा चालक र सहचालक गरी हालसम्म सात जना गाडीमा सवार रहेको पुष्टि भएको छ।

कर्ण प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान सुर्खेतबाट कालीकोटतर्फ जाँदै गर्दा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको थियो।

  • १९ असार २०८३, शुक्रबार १२:२२ प्रकाशित