धनगढी ।
कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको ज्यान गएको छ भने सहसेनानी घाइते भएका छन् ।
मोहन्याल गाउँपालिका–७ को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको ज्यान गएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन् ।
उनका अनुसार विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा दिउँसो १२ बजेतिर हुद्दा बिष्टको ज्यान गएको हो ।
बिहीबार बिहान ९:१७ बजे सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका नेपाली सेनाका मृतक बिष्ट ग्रिनेड पड्काउने क्रममा घाइते भएका थिए । विस्फोटबाट उनको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेको थियो ।
सोही घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको तिमिल्सिनाले बताए ।जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ ।












