आयोग भन्छ,‘ यसपाली २०७४ सालको निर्वाचनमा भन्दा ३० प्रतिशत बढी खर्च लाग्छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले आगामी जेठमा हुन लागेको स्थानीय तहको निर्वाचनमा २०७४ सालको निर्वाचनमा भन्दा ३० प्रतिशत बढी खर्च लाग्ने बताएको छ ।

२०७४ सालपछि २० लाख मतदाता थपिएकाले मतदानस्थल, मतदान केन्द्र, मतपत्र र मतदान सामग्रीको खर्च वृद्धि हुने भएकाले खर्च बढ्ने आयोगले बताएको छ। जसअनुसार यसपाली निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान आयोगको छ ।

आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन मितिबारे परामर्श दिँदै अनुमानित खर्चबारे पनि जानकारी गराएको हो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब रुपैयाँ भन्दा बढी खर्च लागेको भन्दै आयोगले अब हुने निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको हो । ‘एकै चरणमा निर्वाचन नभएमा निर्वाचन व्यवस्थापनमा हुने अनुमानित खर्चमा वृद्धि हुनेछ’ उनले भने ।

आयोग र सरकारबीच आगामी जेठ ४ गते निर्वाचन गर्ने सहमति भएको छ।

  • १८ माघ २०७८, मंगलवार १७:०५ प्रकाशित