पोखरा ।
आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यसहित होटल सङ्घ पोखराले शनिवार देखी ‘जाउँ है पोखरा’ अभियान सुरू गरेको छ ।
होटेल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्धनमा आयोजित सो कार्यक्रम आजदेखि सोमवारसम्म जारी रहने छ ।
विगत २५ वर्षदेखि सञ्चालन भैराखेको सो अभियान यसपाली चितवन, लुम्बिनी र पाल्पा लगाएतका स्थानमा पुगेर प्रवर्धनात्मक कार्यक्रम सहित सम्पन्न गरिने होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
जाउँ है पोखरा अभियानको शनिबार बिहान शुभारम्भ गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले आन्तरिक पर्यटन प्रवर्धनले पोखराको पर्यटन चलायमान गराउन सफल भएको बताए । उनले यस्ता कार्यक्रमले आगामी दिनमा थप पर्यटक भित्र्याउन सहज हुने समेत अपेक्षा प्रकट गरेका छन् ।
अभियानमा पोखरामा क्रियाशील पर्यटन व्यवसायी, होटेल व्यवसायीका साथै सञ्चारकर्मी सहभागी छन् । अभियानका क्रममा व्यवसायीसँग पर्यटकीय साझेदारी, छलफल, अन्तरक्रिया गर्नुका साथै प्रचार सामग्री वितरण गरिने छ ।
पोखराको होटेल क्षेत्रमा मात्रै ६ खर्ब भन्दा बढीको लगानी रहेको अध्यक्ष सुवेदीले बताउँछन् । उनका अनुसार एक हजार २०० भन्दा धेरै सङ्ख्यामा होटेल रहेको जानकारी दिए ।
पोखरामा सञ्चालित होटेलका कारण करिब १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको सङ्घले जनाएको छ ।













