पोखरा ।
पछिल्लो समय भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेसँगै पर्यटकीय राजधानी पोखराको पर्यटन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन उद्योग तथा पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, सुरक्षा निकाय तथा पर्यटन व्यवसायीबीच छलफल तथा अन्तरक्रिया गरेको छ ।
पोखरा अहिले स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेको छ । विशेषगरी भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा बढेपछि पर्यटन क्षेत्र चलायमान बनेको छ । होटल, रेष्टुरेन्ट, यातायात तथा अन्य पर्यटन व्यवसायमा सकारात्मक प्रभाव परेको छ । तर पर्यटकको बढ्दो चापसँगै ट्राफिक व्यवस्थापन, पार्किङ, सुरक्षा, सूचना प्रवाह तथा सेवा व्यवस्थापनका केही चुनौतीहरू पनि देखिन थालेका छन् ।
यही अवस्थालाई मध्यनजर गर्दै उद्योग तथा पर्यटन मन्त्रालयले सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग समन्वयात्मक छलफल तथा अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले पोखराको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री बनाउन सरोकारवालाबीच सकारात्मक र परिणाममुखी छलफल भएको बताए। उनले छलफलमा प्राप्त भएका सुझावका आधारमा कार्ययोजना निर्माण गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे।
छलफलका क्रममा पोखरामा बढ्दो पर्यटक आगमनलाई व्यवस्थापन गर्ने, पर्यटकको आतिथ्यता र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने, ट्राफिक व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्ने तथा पर्यटक सुरक्षालाई प्राथमिकतामा राख्ने विषयमा विशेष जोड दिइएको थियो ।
कार्यक्रममा लेकसाइड तथा ड्यामसाइड, पृथ्वीचोक, क्षेत्रको पार्किङ व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विषय प्रमुख रूपमा उठाइएको छि । पर्यटकको सवारी साधनका लागि पर्याप्त पार्किङको व्यवस्था गर्न स्थानीय संघ संस्था, समाजघर तथा निजी क्षेत्रबाट सञ्चालित पार्टी प्यालेसहरूसँग आवश्यक समन्वय गर्ने विषयमा छलफल भएको छ ।
त्यसैगरी, सवारी आवागमन व्यवस्थापन, सडक सुरक्षा तथा ट्राफिक निगरानीलाई प्रभावकारी बनाउन डिजिटल प्रविधिको प्रयोग बढाउने प्रस्तावसमेत अघि सारिएको छ । लेकसाइड र ड्यामसाइड क्षेत्रमा सिसिटिभी क्यामेरा, एएनपीआर (Automatic Number Plate Reader) तथा एफआर (Face Reader) क्यामेरा तत्काल जडान गर्न आवश्यक रहेको गण्डकी प्रदेश ट्राफिक कार्यालय प्रमुख, प्रहरी उपरीक्षक गोविन्द काफ्लेले बताए । यसले सुरक्षा निगरानीलाई थप मजबुत बनाउने उनको भनाई छ ।
पोखरा तथा मुक्तीनाथ भ्रमण गर्ने, धार्मिक पर्यटकहरूका लागि छुट्टै विश्राम गृह (रेष्ट हाउस) निर्माण गर्ने, पर्यटन सूचना केन्द्र स्थापना गर्ने तथा पर्यटक लक्षित सूचना तथा सहायता कक्ष सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ ।
यसका अतिरिक्त पर्यटकको सहज यात्राका लागि प्रज्ञापनपत्र तथा रुट परमिटको प्रभावकारी जाँच व्यवस्था, सूचना प्रवाह प्रणाली सुदृढीकरण तथा आपत्कालीन सहयोग सेवाको विस्तारमा समेत जोड दिनुपर्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरिक्षक नविन कार्कीले बताए ।
पछिल्लो समय सामाजिक सञ्जालमा पोखरासम्बन्धी फैलिने नकारात्मक सामग्रीलाई चिर्न सकारात्मक सन्देशमूलक सामग्री निर्माण तथा प्रचार–प्रसारलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले बताए ।
पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, धार्मिक गन्तव्य तथा आतिथ्यतालाई उजागर गर्ने प्रचार सामग्री उत्पादन गरी देश तथा विदेशमा प्रभावकारी रूपमा प्रर्वद्धन गर्नुपर्नेमा छलफलका सहभागीहरूले जोड दिएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेश ट्राफिक कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोविन्द काफ्ले, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराई, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष बच्चुराम तिवारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने, पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेल, होटल संघ पोखराका कोषाध्यक्ष नेत्र पौडेल, होटल प्रतिनिधि समाजका अध्यक्ष माधव लम्साल, पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष मोती श्रेष्ठलगायत पर्यटन क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।
छलफलले पर्यटन व्यवस्थापन, ट्राफिक सुधार, पार्किङ सुविधा विस्तार, सुरक्षा प्रर्वद्धन तथा पर्यटकमैत्री वातावरण निर्माणका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई अझ मजबुत बनाउने निष्कर्ष निकालेको छ ।
पर्यटक आगमनमा आएको वृद्धिले पोखराको पर्यटन उद्योगलाई नयाँ ऊर्जा प्रदान गरेको छ । तर दीर्घकालीन रूपमा पर्यटनलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउन पूर्वाधार विकास, प्रविधिको प्रयोग, प्रभावकारी व्यवस्थापन तथा सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य देखिएको छ ।
हालको छलफलले पोखरालाई अझ व्यवस्थित, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दिशामा महत्वपूर्ण आधार तयार गरेको विश्वास गरिएको छ ।













