द ब्रिटिस कलेजलाई बेलायती गुणस्तर मान्यता पुनः प्राप्त

केन्द्रभाग मिडिया

काठमाडौं ।
द ब्रिटिस कलेज (टिबिसी) ले बेलायतको ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बिएसी) बाट पुनः मान्यता प्राप्त गरेको छ । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित सो कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रूपमा उक्त अन्तर्राष्ट्रिय मान्यता नवीकरण गरेको जनाएको हो । कलेजका अनुसार नेपालमा हालसम्म बिएसीको मान्यता कायम राख्न सफल हुने यो एकमात्र शैक्षिक संस्था हो ।

कलेजले जारी गरेको विज्ञप्तिअनुसार बिएसीको मान्यता ३१ मे २०३० सम्म कायम रहनेछ । मान्यता नवीकरणका क्रममा बेलायतबाट आएका निरीक्षकहरूको टोलीले कलेजका शैक्षिक कार्यक्रम, अध्यापनको गुणस्तर, संस्थागत सुशासन, विद्यार्थी सहयोग सेवा, शैक्षिक स्रोतसाधन, भौतिक पूर्वाधार, अनलाइन शिक्षण व्यवस्था, अतिरिक्त क्रियाकलाप तथा स्नातकहरूको रोजगारी सम्भावनालगायत विभिन्न पक्षको मूल्याङ्कन गरेको थियो ।

सन् १९८४ मा स्थापना भएको बिएसी स्वतन्त्र उच्च तथा थप शिक्षण संस्थाहरूको गुणस्तर मूल्यांकन गर्ने अन्तर्राष्ट्रिय निकायका रूपमा परिचित छ । बिएस्सीको मान्यतालाई शैक्षिक गुणस्तर, संस्थागत पारदर्शिता, सुशासन र उत्कृष्टताको अन्तर्राष्ट्रिय सूचकका रूपमा लिइन्छ ।

उक्त मान्यता प्राप्त गर्न संस्थाले सुशासन, रणनीति तथा वित्तीय व्यवस्थापन, शैक्षिक तथा प्रशासनिक व्यवस्थापन, शिक्षण तथा मूल्यांकन, विद्यार्थी सहयोग तथा मार्गदर्शन, भौतिक पूर्वाधार तथा सिकाइ स्रोतसाधन र गुणस्तर व्यवस्थापन तथा सुधारलगायत क्षेत्रका मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।

द ब्रिटिस कलेजका एकेडेमिक डीन डा. डेक्लान पी. ब्याननले पुनः मान्यताले कलेजको शैक्षिक प्रणाली, प्राध्यापक तथा कर्मचारीहरूको समर्पण र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने प्रतिबद्धताको पुष्टि गरेको बताए । उनका अनुसार यस उपलब्धिले विद्यार्थी र अभिभावकमा कलेजप्रतिको विश्वास थप सुदृढ बनाउनेछ ।

कलेज तथा ब्रिटिस एजुकेसन ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले नेपालमा यस्तो मान्यता प्राप्त गर्ने पहिलो कलेज हुनु गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय असल अभ्यासलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बिएसीकी उपप्रमुख कार्यकारी अधिकृत लुसी फक्सले द ब्रिटिस कलेजले शैक्षिक व्यवस्थापन, गुणस्तर सुनिश्चितता, विद्यार्थी कल्याण तथा संस्थागत सुशासनका क्षेत्रमा स्वतन्त्र मूल्यांकन सफलतापूर्वक पार गरेको बताइन् । उनले कलेजलाई पुनः मान्यता प्राप्त गरेकोमा बधाईसमेत दिएकी छन् ।

द ब्रिटिस कलेजले बेलायती विश्वविद्यालयहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । साथै उद्योग क्षेत्रसँगको सहकार्य र विद्यार्थीको करिअर विकासमा केन्द्रित अभ्यासमार्फत आफ्नो पहिचान स्थापित गरेको जनाएको छ ।

कलेजले हालै केही समूहबाट फैलाइएको भ्रामक सूचना र संस्थालाई लक्षित गतिविधिका बाबजुद स्वतन्त्र अन्तर्राष्ट्रिय मूल्यांकन प्रक्रियाबाट पुनः मान्यता प्राप्त गर्न सफल भएको दाबी गरेको छ । कलेजका अनुसार यो उपलब्धिले संस्थाले अन्तर्राष्ट्रियस्तरका शैक्षिक मापदण्ड तथा संस्थागत व्यवस्थापन कायम राखेको पुष्टि गर्दछ ।

  • ५ असार २०८३, शुक्रबार ०६:४९ प्रकाशित