पोखरा ।
रातो बङ्गला फाउन्डेसनले गण्डकी प्रदेशको पोखरामा ‘गुणस्तरीय प्रारम्भिक बाल शिक्षा किन र कसरी ?’ विषयक दुई दिने प्रादेशिक सम्मेलन आयोजना गर्ने भएको छ ।
यहि असार १२ र १३ गते कुमुदिनी होम्स माध्यमिक विद्यालयमा सञ्चालन हुने यस सम्मेलनले गुणस्तरीय शिक्षाका लागि स्थानीय र राष्ट्रियस्तरका अनुभवहरू आदान-प्रदान गर्ने लक्ष्य राखेको छ ।
सम्मेलनको पहिलो दिन (असार १२ गते) दिउँसो २ : ०० बजेदेखि उद्घाटन समारोह र मुख्य सत्रहरू हुनेछन् । दोस्रो दिन (असार १३ गते) बिहान ८ः ०० बजेदेखि विषयगत छलफल, कार्यशाला, नेटवर्किङ र खुल्ला स्टलहरू राखिने कार्यक्रम छ ।
यस सम्मेलनमा संघीय संरचनामा शिक्षा प्रणालीलाई कसरी प्रभावकारी र उपयुक्त बनाउन सकिन्छ भन्ने विषयमा विशेष छलफल हुनेछ । साथै, शिक्षण विधिलाई सुधार्न सुझाव संकलन गर्ने र विद्यालयहरूलाई वास्तविक रूपमै बालमैत्री विद्यालय बनाउने तरिकाहरूका बारेमा अनुभव साटासाट गरिनेछ ।
गण्डकी प्रदेशका ११ जिल्लाहरूबाट करिब २५० जना शिक्षा सरोकारवालाहरू सहभागी हुने यस कार्यक्रमले स्थानीय सरकारसँग सहकार्य गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने साझा दृष्टिकोण बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
ललितपुरमा २०५९ सालमा दर्ता भएको रातो बङ्गला फाउन्डेसनले विगत लामो समयदेखि विद्यालय शिक्षाको गुणस्तर सुधार्न सहयोगी भूमिका खेल्दै आएको छ । यस संस्थाले मुख्यतः शिक्षक तालिम, अभिभावक शिक्षा, शैक्षिक सामग्री सहयोग, विद्यालय पुनर्निर्माण र कक्षाकोठा व्यवस्थापन जस्ता कार्यहरूमा विशेष जोड दिँदै आएको छ ।
फाउन्डेसनले यसअघि सन् २००३ मा राष्ट्रिय सम्मेलन र २०१३, २०१९ तथा २०२४ मा अन्तर्राष्ट्रिय सम्मेलनहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ। ती सम्मेलनहरूमा करिब २००० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षाविद्हरूको सहभागिता रहेको थियो भने तत्कालीन नेपाल सरकार, शिक्षा मन्त्रालयको समेत सहकार्य रहेको थियो ।
त्यस्तै, गत वर्ष बागमती प्रदेशको हेटौंडामा पहिलो प्रादेशिक सम्मेलन सफलतापूर्वक सम्पन्न गरिसकेको छ। उक्त सम्मेलनमा ३०० भन्दा बढी शिक्षा सम्बद्ध सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।













