विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइनेछ : शिक्षामन्त्री

केन्द्रभाग मिडिया

सुर्खेत ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । त्यसका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको उनको भनाइ छ ।

बुधबार मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै पोखरेलले भने– ‘त्यसका लागि हामीले आवश्यक बजेट, पूर्वाधार र विशेषज्ञको व्यवस्था गर्न भरपुर प्रयास गर्नेछौँ ।’

विश्वविद्यालयले स्थानीय आवश्यकताको पहिचान गर्दै प्रदेशमा प्रचुर मात्रामा रहेको जलस्रोत, वन, जडीबुटी, पर्यटन र सांस्कृतिक धरोहरको अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

‘म सरकार तथा मेरो मन्त्रालयको तर्फबाट यो विश्वविद्यालयलाई उच्च शैक्षिक मापदण्ड, डिजिटल शिक्षा र रोजगार उन्मुख कार्यक्रमका लागि आवश्यक सहयोग गर्न पूर्णतः प्रतिबद्ध छु,’ उनले भने ।

मध्यपश्चिम विश्वविद्यालय कर्णाली प्रदेशकै गौरवमा रूपमा रहेको बताउँदै उनले शैक्षिक स्तर उन्नति, अनुसन्धान र प्रविधिमा उदाहरणीय योगदान पुर्‍याएको बताए ।

उनले विश्वविद्यालय स्थापना भएको पौने दुई दशकको अवधिमा अनुसन्धानमूलक शिक्षा, खेलकुद, डिजिटल शैक्षिक प्रविधि र नवीनतम प्रविधिको उपयोग सुनिश्चित गर्न विश्वविद्यालयले देखाएको प्रतिबद्धताको प्रशंसा गरे ।

दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भने, ‘तपाईँले प्राप्त गर्नुभएको शिक्षा केवल आफ्नो व्यक्तिगत प्राप्तिको लागि मात्र होइन, समाज र राष्ट्रको विकासको लागि सशक्त माध्यम पनि हो ।’

नेपालको सन्दर्भमा हामी विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको उनले बताए ।

  • ३ असार २०८३, बुधबार १४:५३ प्रकाशित