पोखरा ।
पोखरा २७ डाँडाकोनाकमा आज बिहान टिप्परको ठक्करबाट एक पुरुषको ज्यान गएको छ । ज्यान गुमाउनेमा तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी ५३ वर्षीय विष्णुबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय डाँडाकोनाकले जानकारी दिएको छ ।
विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको ग१ख ७७६६ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा८०प ३५३० नम्बरको मोटरसाइकललाई आज बिहान करिब ११ः२५ बजे ठक्कर दिदाँ मोटरसाइकल चालक खत्रीको ज्यान गएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार ठक्करपछि गम्भीर घाइते भएका खत्रीलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा बिहान ११ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
ठक्कर दिने टिपर र चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–२ साखर निवासी ३३ वर्षीय पदमबहादुर थापालाई इलाका प्रहरी कार्यालय डाँडाकोनाकले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











