पोखरा ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले ‘पोखरा नेपाल प्रमोसनल क्याम्पेन एण्ड वी टु वी सेल्स मिसन’ आयोजना गर्ने भएको छ ।
सो क्याम्पेन यहि २८ जेठ अर्थात भोलिबाट १ असार सम्म भारतको कलकत्तामा आयोजना गर्न लागेको नाट्टाले आज पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
उक्त कार्यक्रममा पोखरा र समग्र नेपालको पर्यटनको गतिविधिहरु समेटिएको वृत्तचित्र, प्रर्वद्धनात्मक सामाग्रीहरु प्रर्दशन एवम् वितरण गरिने नाट्टा गण्डकीका महासचिव चेत बहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
सो अवसरमा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय हवाई उडान संञ्चालन गर्नका लागि सम्बन्धित निकायहरुसंग छलफल गर्ने महासचिव कार्की बताए । यस्तै त्यहाँका प्रमुख पर्यटकीय गन्तव्यहरुको अवलोकन भ्रमण पनि हुने भएको छ ।
सो क्याम्पेनमा २२ जना प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । मित्रराष्ट्र भारतको वेस्ट बेंगल अन्तरगत कलकत्ता शहरमा नाट्टा गण्डकी प्रदेश तथा त्यहाँका पर्यटन व्यवसायीहरु, पत्रकारहरु, सामाजिक सञ्जालका सेलिब्रेटीहरुको पनि सहभागिता रहने आयोजक नाट्टाले जनाएको छ ।
त्यस्तै कलकत्ताका संघ संस्थाहरु इन्डियन एशोसियसन अफ टुर अपरेटर, वेस्ट वेंगल, ट्राभल एजेन्ट्स एशोसियसन अफ वेंगल, इस्टर्न हिमालय ट्राभल एण्ड् टुर अपरेटर्स एशोसियसन, इन्टरप्राजिङ ट्राभल एजेन्ट्स एशोसियसन, इस्टर्न च्याप्टर, एशोसियसन अफ बुद्धिष्ट टुर अपरेटर्स, वेस्ट वेंगल च्याप्टर, एशोसियसन अफ डोमेस्टिक टुर अपरेटर्स अफ इन्डियाका प्रतिनिधिहरुको सहभागिता रहने आयोजक नाट्टाले बताएको छ ।
क्याम्पेनको नेतृत्व संस्थाका अध्यक्ष किशोर दाहालले गर्नेछन् भने संयोजकको भुमिका प्रथम उपाध्यक्ष संगिता पौडेल र सह संयोजकको भुमिका द्वितीय उपाध्यक्ष राजेश पहारीले निर्वाह गर्ने आयोजकले बताएको छ । कार्यक्रम सञ्चालनका लागि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग रहेको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेपाल पर्यटन वोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पछिल्लो समय भारतीय पर्यटकको आगमन राम्रो रहेको जानकारी दिए । उनले अघिल्लो महिनाको डेटा हेर्दा जम्मा आउने पर्यटक मध्ये २९ प्रतिशत भारतबाट आएको बताए । उनले पर्यटन वोर्डले पछाडी बसेर सहयोग गरेको यो क्याम्पेयनले पोखरा, दिल्ली, देरादून र वनारस लगायत हवाइ उडान मार्फत जोड्ने रुट खोल्न सफल हुने अपेक्षा प्रकट गरे।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले नेपालकै पर्यटन प्रर्वद्धन गर्नमा यो टुर निकै उपयोगी हुने अपेक्षा राखे । पत्रकार सम्मेलनमा बोल्दै उनले पर्यटन मैत्री व्यवहारले नै नेपालमा पर्यटक आएको बताए । भारतीय पर्यटकले यहाँको पर्यटन चलायमान भएको उनको दाबी थियो ।
नेपाल पर्यटन बोर्डका पूर्वं बोर्ड सदस्य वासुदेव त्रिपाठीले पर्यटन प्रर्वद्धनमा निजी क्षेत्रको अग्रणी भूमिका रहेको उल्लेख गरे । पर्यटकीय संघसंस्थाहरुको संयुक्त प्रयासले अन्तर्राष्ट्रियल विमानस्थल बनाउन, पर्यटकीय राजधानी घोषणा गराउन र प्रमोसनका विभिन्न कार्यक्रम गर्न सफल भएको बताए ।
कार्यक्रममा नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, उपाध्यक्ष संगीता पौडेल र महासचिव चेतबहादुर कार्की चेतन लगायतले पत्रकारहरुका जिज्ञासाको जवाफ दिएका थिए।
नाट्टामा ११ जिल्ला भित्रका टुर एण्ड ट्राभल व्यवसायी आवद्ध रहेका छन् । संघले आफ्ना सदस्यहरुको हकहितका लागि मात्र नभएर व्यवसाय वृद्धि गर्न पोखरा एवं गण्डकी प्रदेशकै पर्यटन प्रर्वद्धन गर्ने कार्यहरु गर्दै आएको छ ।
विगतमा संस्थाले आन्तरिक पर्यटन प्रवद्र्धनको लागि प्रर्वद्धनात्मक अवलोकन भ्रमण लगायतका विभिन्न गतिविधिसँगै विगतदेखि नै अन्तराष्ट्रियस्तरमा प्रमोसनल अभियान तथा विभिन्न प्रकारका सेल्स मिसनहरु आयोजना गर्दै आएको छ ।
संस्था मार्फत् यस्ता प्रमोसन तथा सेल्स मिसनले पोखरा गण्डकी प्रदेश तथा नेपालकै पर्यटनलाई विश्व बजारमा बजारीकरण गरी बाह्य पर्यटकको नेपाल आगमनमा वृद्धि गराउन विभिन्न अन्तराष्ट्रिय स्तरका कार्यक्रमहरु गर्दै आइरहेको नाट्टाले जनाएको छ ।
संघले यस भन्दा अगाडिका भारतका मुख्य मुख्य शहरहरु पटना, वाराणसी, अयोध्या, गोरखपुर, सिलगुडीमा पोखरा र नेपालको पर्यटन प्रर्वद्धन गर्न यस्तो क्याम्पेनहरु सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
उक्त कार्यक्रमहरु सम्पन्न भए पश्चात पोखरामा भारतीय पर्यटकहरुको आगमन वृद्धि भएको नाट्टाको दाबी छ ।












