बुटवल ।
रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा बिहीबार बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ।अस्थायी नम्बर प्लेट भएको बोलेरो जिप सडकबाट करिब ६०० मिटर तल खसेको थियो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार ज्यान गुमाउनेमा दाङ घोराही उपमहानगरपालिका–७ देसाहीका २५ वर्षीय चालक वीरबहादुर चौधरी रहेका छन्।
त्यस्तै दाङ दगिशरण गाउँपालिका–७ श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका–१४ बस्ने ४० वर्षीय जिउधन चौधरी र उनकी श्रीमती ३८ वर्षीया कमला चौधरीको पनि घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
उक्त डबल क्याब गाडीले जस्तापाता र प्लास्टिकका पाइप बोकेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












