कोरला नाकाबाट भित्रिएका नम्बर प्लेट बिनाका ७७४ विद्युतीय गाडी नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा

सशस्त्र प्रहरी बल नेपालले मुस्ता कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।

भन्सार छलि गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बुधबार राति सशस्त्र प्रहरी बलले ती गाडीहरु नियन्त्रणमा लिएको  सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत, नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यसैगरी नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत २ वटा गाडी नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका सबै गाडीहरु आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्रले जनाएको छ ।

बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै ती गाडी नेपाल भित्रिएको बताइएको छ । नम्बर प्लेट बिनाका गाडीहरू विभिन्न जिल्लामा लैजान लागेको सूचना पाएपछि नेपाल प्रहरीसँगको समन्वयमा सशस्त्रले ती गाडी नियन्त्रणमा लिएको हो ।

शङ्का लागेर नियन्त्रणमा लिइएका ती गाडीका कागजात भन्सारसँगको समन्वयमा चेकजाँच गरिने ती अधिकृतले बताए ।

बजेट वक्तव्यमा करको दर हेरफेरको सूचना लिक भएपछि ती गाडी आयात गरिएको आशङ्का गरिएको छ । कास्की र पर्वत लगायतका ठाउँमा ती गाडी सशस्त्र प्रहरीले होल्ड गरेर राखेको छ ।

  • २१ जेष्ठ २०८३, बिहीबार ११:०३ प्रकाशित