पोखरा ।
पोखरा यातायात प्रालिले सडक दुर्घटना न्युनिकरण गर्न भन्दै आफ्ना चालक र सहचालकलाई प्रशिक्षण दिन सुरु गरेको छ । क्यूमा नरहेका बसका चालक र सहचालकलाई पाँच दिनसम्म प्रशिक्षण दिइने पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले जानकारी दिए ।
प्रशिक्षणको गण्डकी प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले एक कार्यक्रमका बिच सोमबार शुभारम्भ गरेका हुन् । प्रशिक्षण शुभारम्भ गर्दै उनले बढ्दो दुर्घटनालाई न्युनिकरण गर्न सबैको हातेमालो आवश्यक रहेको बताए । यातायात व्यवसायी, त्यस क्षेत्रमा कार्यरत चालक सहचालक र यात्रुसमेत जिम्मेवार हुँदा दुर्घटन न्युनिकरण गर्नसकिने उनको भनाई थिए । एसपी काफ्लेले चालक सहचालकलाई यसरी प्रशिक्षण दिँदा थप जिम्मेबार बन्ने मद्दत पुग्ने धारणा राखे ।
कार्यक्रममा बोल्दै पोखरा यातायात प्रालिका प्रबन्धक देवी प्रसाद कुइँकेलले पोखरा यातायात प्रालिले आफूलाई प्रविधिमैत्री बनाउँदै लगेको बताए । १२ वर्ष अगाडिबाट नै जीपीएस जडान गरिएको र अब ड्यास क्यामेरा जडान छिट्टै गरिने समेत उनले जानकारी दिए । पुराना सवारी विस्थापन हुँदा त्यसको सट्टा इलेक्टिङक गाडी ल्याइएको चर्चा गरेका उनले प्रविधिमैत्री नभए अबको यातायात क्षेत्र अगाडि बढ्न नसक्ने उल्लेख गरे ।
पाँच दिनसम्म चल्ने प्रशिक्षणमा हजार भन्दा धेरै चालक र सहचालक सहभागी हुनेछन् । आफूहरुले दिने यातायात सेवामा कुनैपनि प्रकारको समस्य नदेखियोस् भनेर क्युमा नरहेका चालकलाई यसरी प्रशिक्षण दिन सुरु गरिएको अध्यक्ष गुरुङको भनाई थियो । कार्यक्रम संयोजक सूर्य गुरुङले कार्यक्रममा स्वागत गरेका थिए भने प्रशिक्षण कार्यक्रममा प्रहरी नायव निरीक्षक सन्तोष ज्ञवालीसहितले प्रशिक्षण प्रदान गरिरहेका छन् ।












