पोखरा ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले महिला केन्द्रित स्वास्थ्य जागरण कार्यक्रम सम्पन्न गरेको छ । आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर शनिबार पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा सेवा हस्पिटल प्रालिका डाइरेक्टर डा. सरिता गुरुङले महिनावारी, पाठेघर र स्तन क्यानसरको बारेमा जानकारी दिइन् ।
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट हरेक वर्ष दुई हजार महिलाले ज्यान गुमाउने गरेको तथ्यांक प्रश्तुत गर्दै गरिन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघर मुखको क्यान्सर हुने गरेको उनले तथ्यांक देखाइन् ।
उनले स्तन क्यान्सर महिला, पुरुष जोसुकैलाई पनि हुनसक्ने बताउँदै। स्तन परीक्षण सम्बन्धी जानकारी भएमा स्तन क्यान्सरबाट बच्न सकिने जानकारी दिइन् । त्यसैगरी महिनावारी हुँदा अपनाउने सरसफाइ लगायतका विषयमा उनले जानकारी दिएकी थिइन् । सचेत भए विभिन्न रोगबाट बच्न सकिने उनको भनाई थियो ।
ओटेफका अध्यक्ष ममता न्यौपानेले पर्यटन प्रबद्धनात्मक कार्यक्रमसहित महिला पर्यटन व्यवसायीहरुको हित, अधिकार र सचेतनाका लागि विभिन्न कार्यक्रम आफूहरुले गर्दै आएको जानकारी दिइन् ।
कार्यक्रममा कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवाल, संस्थापक अध्यक्ष एवं सल्लाहकार जमुना पराजुली, सल्लाहकार एवं नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव जमुना वर्षा शर्मा लगायतले महिला अधिकार र स्वास्थ्य सम्बन्धि विविध जानकारी गराएका थिए । कार्यक्रममा कार्यक्रम संयोजक सुशीला भण्डारी र महासचिव भावना रानाभाट लगायतले बोलेका थिए ।












