काठमाडौं ।
सर्वोच्चबाट नेकपा फिर्ता ल्याउने ऋषि कट्टेल पार्टीबाटै निष्कासित भएका छन् ।
नेकपाले कट्टेललाई माघ १३ गते नै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। उनलाई पार्टीले मागेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै साधारण सदस्य समेत नरहने गरि निष्कासित गरिएको जनाइएको छ।
पार्टीको विधानविपरीत दलको अहित हुने काम गरेको आरोप लागेपछि माघ ५ गते छानविन समिति गठन गरिएको तर छानविन समितिले माघ ७ गते मागेको स्पष्टीकरणको जवाफ नदिएको हुनाले निष्कासन गरिएको उल्लेख छ ।
कट्टेलले एक वर्षअघि फागुन २३ गते सर्वोच्च अदालतको उत्प्रेषण आदेशमार्फत केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा एकता बदर गरी नेपाल कम्युनिस्ट पार्टीको नाम फिर्ता ल्याउने ऋषि पार्टीबाटै निष्कासित भएका छन् ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८, नेपाल कम्युनिस्ट पार्टीको विधान २०६९ को धारा १७।११ बमोजित दलको साधारण सदस्यसमेत सम्पूर्ण पद र जिम्मेवारीबाट छानविन समितिको सिफारिसबमोजिम आजैका मितिदेखि निष्कासन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ गत विहीबार जारी वक्तव्यमा भनिएको छ ।
को हुन् ऋषि कट्टेल ?
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर २०७५ जेठ ३ मा एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम वैधानिक नभएको भन्दै सर्वोच्च अदालतको फैसलापछि ऋषि कट्टेल अचानक राजनीतिक चर्चाको केन्द्रमा आएका थिए ।
ऋषि कट्टेलले झण्डै नौँ वर्षअघि अन्य कम्युनिष्ट नेताहरू लोक नारायण सुवेदी, जगत बोगटी, शरण बिक्रम मल्ल, रामबहादुर भण्डारी र भीम सेढाईंसँग मिलेर उक्त दल दर्ता गरेका हुन ।
नेपाल कम्युनिष्ट पार्टी दर्ता गर्नुअघि ऋषि कट्टेल अहिले सीपी मैनालीले नेतृत्व गरिरहेको नेकपा (माले) का नेता थिए । गत आम निर्वाचन अघि वाम गठबन्धन सहित निर्वाचनमा गएका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर २०७५ जेठ ३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामबाट दल दर्ता गरेका थिए ।
त्यसलगत्तै कट्टेलले आफ्नो पार्टीको नाम सत्तारुढ दलले अपहरण गरेको भन्दै सर्वोच्च अदालतमा पुगेका थिए ।