चितवन ।
चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बढेको छ । नेपाली पर्यटक बढे पनि सार्क देश तथा तेस्रो मुलुकका पर्यटकको संख्यामा भने कमी आएको छ ।
चालु आर्थिक वर्ष ९२०८२/०८३० को वैशाखसम्म २ लाख २६ हजार ८ सय ७६ जना स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । जसमा १ लाख ३७ हजार २४६ जना नेपाली, १३ हजार ९९२ जना सार्क देशका र ७५ हजार ६३८ जना तेस्रो मुलुकका पर्यटकहरु छन् ।
गत वर्ष वैशाखसम्म कुल पर्यटकको संख्या २ लाख ४ हजार ५०२ रहेकोमा यस वर्ष २२ हजार ३७४ ले बढेर २ लाख २६ हजार ८७६ पुगेको छ ।चालु आर्थिक वर्षको २ महिना बाँकी छँदा गत वर्षभन्दा बढी पर्यटकले निकुञ्ज भ्रमण गर्ने देखिएको छ । गत वर्ष २ लाख ३१ जना ३ सय २९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।
गत वर्ष सार्क मुलुकका १८ हजार ९३३ र तेस्रो मुलुकका ८१ हजार ८९७ जनाले निकुञ्जको भ्रमण गरेकोमा चालु वर्षको वैशाखसम्म सार्क मुलुकका १३ हजार ९९२, तेस्रो मुलुकका ७५ हजार ६३८ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । सार्क देशबाट ४ हजार ९४१ र तेस्रो मुलुकबाट ६ हजार २५९ जना पर्यटक गत वर्षभन्दा कम आएका छन् ।
यता नेपाली पर्यटकको संख्या भने बढेको छ । गत आर्थिक वर्षको वैशाखसम्म निकुञ्ज भ्रमण गर्ने नेपाली पर्यटक एक लाख तीन हजार ६७२ रहेकामा चालु आर्थिक वर्षमा यो संख्या बढेर एक लाख ३७ हजार २४६ पुगेको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए । गत वर्षभन्दा ३३ हजार ५७४ जना बढी नेपाली पर्यटकले निकुञ्ज घुमेको थापामगरले बताए ।
कार्तिक, पुस, माघ र वैशाखमा सबैभन्दा बढी नेपाली पर्यटकले निकुञ्ज घुमेको देखिएको छ । अघिल्लो वर्ष वैशाखमा १० हजार ७८१ जनाले निकुञ्ज घुमेकोमा चालु वर्षको वैशाखमा मात्रै १८ हजार ४६ जना नेपाली पर्यटक निकुञ्ज पुगेका छन् ।
विदेशी पर्यटकको संख्या माघ र फागुनमा बाहेक हरेक महिना गत वर्षभन्दा घटेको देखिन्छ । नेपाली पर्यटकको संख्या भने हरेक महिना गत वर्षको भन्दा बढेको देखिन्छ ।

















