मुग्लिङ पोखरा सडक विस्तार योजना अन्तर्गत हालसम्म तनहुँ खण्डका १८०० रुख कटान भएको छ ।
सडक चार लेन बनाउने योजना अनुसार धमाधम रुख कटान भइरहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँबायाँ रहेका रुख कटानलाई तीव्र पारिएको हो ।
जामुनेदेखि पोखरासम्मको खण्डमा तीन हजार एक ६३ रुख कटान गर्नुपर्नेमा हालसम्म एक हजार आठ सय रुख कटान गरिएको मुग्लिङ पोखरा सडक योजना पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।
उनले भने,‘पूर्वी खण्ड अन्तर्गत जामुनेदेखि आँबुखैरेनीसम्म करिब ५० प्रतिशत रुख काटिसकिएको छ,रुख कटान सकिएलगत्तै बाँकी कामलाई पनि अगाडी बढाउँछौ ।’ उनका अनुसार आयोजनाले बाटो चौडा गर्ने कामलाई पनि अगाडी बढाइरहेको छ ।
पश्चिम खण्डको ठेक्का सम्झौता केही पछि भएकाले यस खण्डमा काम सुरु गर्न केही ढिलाइ भएको थियो । रुख कटानपछि बिजुलीका पोल स्थानान्तरण र घर टहरा हटाउन सुरु गरिने बताइएको छ ।
सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० रुख हटाउनुपर्ने हुन्छ । सडक आयोजनाले रुख काटेर वन कार्यालयलाई बुझाउने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।
सो सडक विस्तार योजनालाई दुई खण्डमा विभाजन गरेर अगाडी बढाइएको छ । जामुनेदेखि आँबुखैरेनीसम्म र जामुनेदेखि पोखरासम्म खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ ।