प्रधानमन्त्रीको अनुपस्थितिमै नीति तथा कार्यक्रममाथि छलफल जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अनुपस्थितिमै जारी रहेको छ । संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा बिहीबार छलफल सुरु भएको हो ।

नीति तथा कार्यक्रम बुधबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले टेबल गरेका थिए । तर विपक्षी दलले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री सहभागी हुनुपर्ने र जवाफ पनि दिनुपर्ने माग गरेका थिए । सोही मागका कारण बुधबारको बैठक अघि बढ्न सकेको थिएन ।

सभामुख डोलप्रसाद अर्यालले बुधबार बेलुका प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका थिए । तर, बिहीबार पनि प्रधानमन्त्री प्रतिनिधि सभा बैठकमा उपस्थित नभएपछि उनको अनुपस्थितिमै छलफल सुरु भएको हो । नीति तथा कार्यक्रममा विपक्षीहरूले ३५ वटा संशोधन प्रस्ताव हालेका छन् ।

नीति तथा कार्यक्रममाथिको छलफल आजै सकेर जवाफ दिने कार्यक्रम रहेको छ । नीति तथा कार्यक्रममाथिको छलफल सुरु हुनुअघि बिहीबारको बैठकमा पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने माग दोहोर्‍याएका थिए ।

कांग्रेसका मिस्कल राई, एमालेका ऐन महर, राप्रपाका खुस्बु ओली र नेकपा युवराज दुलालले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको भन्दै सरकारले कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ ? भनेर प्रश्न गरेका थिए ।

  • ३१ बैशाख २०८३, बिहीबार १२:५२ प्रकाशित