काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा.आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि इन्टरपोलले थप कागजात माग गरेको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले थप कागजातको विवरण एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो) काठमाडौंसँग माग गरेको हो ।
एक उच्च प्रहरी अधिकारीको अनुसार‘ रेड नोटिस अहिले प्रक्रियामै छ ।
गत २४ चैतमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएसँगै देउवा दम्पतीलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको थियो ।
देउवा दम्पतीविरुद्ध रेड नोटिसका लागि एनसीबी काठमाडौं (नेसनल सेन्ट्रल ब्युरो)ले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको थियो । तर इन्टरपोलले भने कागजात नपुगेको भन्दै रेड नोटिस जारी गरेको छैन ।
पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती भने विदेशमा छन् । चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पती उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरू ७ चैतमा हङकङ गएको बताइएको छ ।













