एमाले पुनर्गठन गर्छौं : विष्णु पौडेल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई पुनगठन गर्ने बताएका छन् ।

उपाध्यक्ष पौडेलले पछिल्लो निर्वाचन (२१ फागुन) मा पार्टीले बेहोर्नुपरेको नतिजालाई ‘गम्भीर धक्का’ का रूपमा स्वीकार गर्दै पार्टीलाई नयाँ सिराबाट पुनर्गठित गर्ने जिकिर गरे।

विगत १० वर्षमा एमालेले दुईतिहाइ नजिकको सरकार बनाउनेजस्ता ठुला सफलता प्राप्त गरे पनि अहिलेको पराजयले नयाँ चुनौती खडा गरेको उनले बताए । यस विषयमा पार्टीभित्र गम्भीर समीक्षा हुने उनको भनाइ छ ।

‘यसपटक अत्यन्तै नराम्ररी पराजित भएका छौँ, गम्भीर धक्का र असफलता बेहोर्नुपरेको छ । तर यो धक्कालाई चिरेर हामी उठ्छौँ, यसबाट शिक्षा लिन्छौँ,’ पौडेलले भने, ‘पछिल्लो पराजयबाट कतिपय मानिसहरूमा निराशा र पलायनको स्थिति देखापरेको छ । तर पलायन र निराशा समस्याको समाधान होइन ।’

उनले पार्टीको हारका पछाडि आन्तरिक कि बाह्य कारण जिम्मेवार छन्, नीति वा सङ्गठन जिम्मेवार छन् वा नेताहरूको कार्यशैली जिम्मेवार छ भन्ने विषयमा समग्र समीक्षा गरिने बताए ।

‘हाम्रो नेतृत्व, कार्यतरिका, सङ्गठन, आचरण वा अभ्यासमा जहाँ-जहाँ त्रुटि देखिएका छन्, ती भुल र त्रुटिहरूका बारेमा हामी देशवासीहरूसामु निसङ्कोच क्षमायाचना गर्छौँ,’उनले भने ।

आगामी दिनमा ‘जनताको बहुदलीय जनवाद’ (जबज) को मार्गदर्शनमा रहेर पार्टीको नीति र विचारलाई अद्यावधिक गरिने पौडेलले बताए । नेपालको कम्युनिस्ट आन्दोलनले बेलाबेलामा दक्षिणपन्थी र उग्रवामपन्थी अवसरवादको सामना गर्नुपरेको उल्लेख गर्दै उनले जबजको औचित्य अहिले पनि उत्तिकै रहेको दाबी गरे ।

‘हाम्रा असफलता र पराजयले जनताको बहुदलीय जनवादको औचित्यलाई खण्डित गर्न सक्दैन,’ पौडेलले भने, ‘हाम्रो आत्मविश्वासको सबैभन्दा बलियो आधार नै जबज हो । यसैले हामीलाई हाम्रा भुलत्रुटिहरू देख्न, स्वीकार गर्न, सच्याउन र फेरि धुलो टक्टक्याएर उठ्न मार्गदर्शन गर्छ ।’

  • १६ बैशाख २०८३, बुधबार १४:१६ प्रकाशित