काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी ११ मंसिर देखि १५ मंसिरसम्म संघीय राजधानी काठमाडौंमा आफ्नो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको नेकपाको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको नेता प्रकाश ज्वालाले जानकारी दिएका हुन् । पार्टी निकट जनवर्गीय संगठनलाई व्यवस्थित बनाउन आगामी जेठ मसान्तभित्र सङ्घीय, प्रदेश, पालिका, वडा सङ्गठनको समायोजन सम्पन्न गर्ने कार्यसूची छ ।
महाविधेशनको कार्यतालिकाअनुसार, मंगलबारदेखि नै काम अगाडि बढ्ने उनको भनाइ छ । आगामी १५ कात्तिक भित्र सबै प्रदेशका अधिवेशन पूरा गर्ने बैठकले निर्णय गरेको छ ।
त्यस्तै, नेकपाको बैठकमा प्रदेशका इन्चार्ज, संयोजक र सहसंयोजक र केही विभागका प्रमुख एवं उपप्रमुखबारे पनि प्रस्ताव आएको छ । त्यसमा छलफल भए पनि निर्णय हुन बाँकी रहेको उनले जानकारी दिए ।
नेकपाले संविधान संशोधन समस्यौदा कार्यदल पनि गठन गरेको छ । कार्यदलमा नेताहरू देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी छन् ।
यसैगरी, बैठकले अगामी असार र साउन महिना श्रम शिविर सञ्चालन गर्ने निर्णय गरेकोछ । यससँगै सदस्यता नवीकरण र विस्तार गर्ने निर्णय समेत भएको ज्वालाले बताए ।











