पोखरा ।
उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित यो सघन प्रशिक्षण कार्यक्रम वैशाख ८ गतेसम्म सञ्चालन हुनेछ।
तालिमको समुद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र पहारीले प्रविधिमैत्री सिकाइले नै वर्तमान समयमा दक्ष जनशक्ति उत्पादन गर्न सम्भव रहेको बताए।उनले यस तालिमबाट आर्जित सीप र ज्ञानले सामुदायिक क्याम्पसहरूको शैक्षिक स्तर उकास्न र विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुऱ्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले यस किसिमको प्राज्ञिक कार्यक्रम सामुदायिक क्याम्पसहरूका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे । उनले अन्तर क्याम्पस अनुभव आदानप्रदानले समग्र शैक्षिक प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने बताउँदै सहभागीहरूलाई तालिमको मर्म आत्मसात् गर्न आग्रह गरे ।
कार्यक्रममा क्याम्पस प्रमुख कृष्णबाबु बरालले तालिमको औचित्यमाथि प्रकाश पार्दै जनप्रिय क्याम्पस सन् २००७ देखि नै विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा उच्च शिक्षा सुधार अभियानमा सक्रिय रहेको जानकारी दिए ।’विद्यार्थी भर्ना दरमा आएको ह्रास र कक्षा छाड्ने समस्याको न्यूनीकरणका लागि प्रभावकारी शिक्षण पद्धतिको विकास अपरिहार्य छ,’ उनले भने, युजिसीको नेहेप प्रोजेक्ट अन्तर्गत यस प्रदेशकै लिड क्याम्पसको रूपमा हामीले दोस्रो चरणको यो जिम्मेवारी सफलतापूर्वक कार्यान्वयन गरिरहेका छौँ ।
तालिममा द्रव्य शाह बहुमुखी क्याम्पस (गोरखा), गुप्तेश्वर महादेव, पोखरा बहुमुखी, कालिका, जनप्रकाश, कन्या र जनप्रिय बहुमुखी क्याम्पस (कास्की), जनज्योति र आदिकवि भानुभक्त (तनहुँ), कुश्मा बहुमुखी (पर्वत), म्याग्दी बहुमुखी (म्याग्दी), मध्यविन्दु बहुमुखी (नवलपरासी), शान्तिदीप बहुमुखी (बागलुङ) एवं मर्स्याङ्दी बहुमुखी क्याम्पस (लमजुङ) गरी क्युएए प्रत्यायन प्राप्त १४ वटा क्याम्पसका ३० जना प्राध्यापकहरूको सहभागिता रहेको छ। विश्वविद्यालय अनुदान आयोगले प्रति सहभागी ७५ हजार रुपैयाँका दरले कुल २२ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको तालिम व्यवस्थापन समितिका संयोजक एवं सहायक क्याम्पस प्रमुख नवीनराज खनालले जानकारी दिए ।
६ दिनसम्म चल्ने कार्यशालामा आधुनिक शिक्षण दर्शन, नतिजामुखी शिक्षामा आधारित पाठ्यक्रम निर्माण र विद्यार्थी केन्द्रित शिक्षण विधिलाई प्राथमिकता दिइएको छ। डिजिटल पेडागोजी अन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग, लर्निङ म्यानेजमेन्ट सिस्टम, उच्चस्तरीय अनुसन्धान, शोध निर्देशन, प्राज्ञिक लेखन तथा प्रकाशनका विविध आयामहरूमा सहभागीहरूलाई अभ्यस्त गराइने तालिम एकाइका सदस्य यामकुमार बरालले जानकारी दिए ।
उद्घाटन सत्रमा पोखरा बहुमुखी क्याम्पसकी प्रमुख शिशुकला पराजुली, क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष नम्रता बराल र इन्जिनियर शारदामोहन काफ्ले लगायतले बोल्दै लामो अवधिको यस्तो ुबुट क्याम्पु तालिमले प्राज्ञिक नेतृत्व र शिक्षण संस्कृतिमा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरे ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन तालिम एकाइका सदस्य यामकुमार बरालले गरेका थिए भने उपाध्यक्ष नम्रता बरालले धन्यवाद ज्ञापन गरेकी थिइन् ।













