पोखरा ।
पोखरा महानगरपालिकाले नयाँ वर्ष विक्रम सम्बत २०८३ को नयाँ (पहिलो) दिन आज (मंगलबार) तीन वटा नयाँ सुरुवात गरेको छ । महानगरले आज पोखरा विमानस्थलमा निःशुल्क विद्युतीय सटल बस सेवा, विपद् पूर्वतयारी र उद्धारका लागि एकद्वार प्रणाली सुरुवात र पोखरा महानगरपालिका वडा नम्बर १७ को वडा कार्यालयको भवन उद्घाटन भएको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्यले विपद् तथा जोखिम न्यूनीकरण केन्द्र (डिआरआरसी) को उद्घाटन गरेका छन् । पोखरा ९ शान्तिवनस्थित दमकल कार्यालयमा यो केन्द्रको उद्घाटन गरेका हुन् । त्यहाँ महानगर प्रहरीको ब्यारेक र कार्यालयसँगै बहुउद्देश्यीय भवन बनाइएको छ । सहरको शान्ति सुरक्षा, सुशासन र विपद् व्यवस्थापन गर्न केन्द्रले काम गर्ने छ ।
केन्द्रले पोखराको भौगोलिक अवस्था अनुसार सेती नदीको खोँच, भूकम्प, बाढी र पहिरोको जोखिममा ध्यान दिनेछ । फेवाताल लगायतका तालमा डुबेका व्यक्तिको उद्धारमा पनि यसले सक्रियता देखाउनेछ ।

महानगरका प्रमुख आचार्यका अनुसार महानगरले छरिएका स्रोत र साधनलाई एकै ठाउँबाट परिचालन गर्न यो केन्द्र बनाएको हो । विपद् उद्धारका लागि सशस्त्र प्रहरी बलको प्राविधिक सहयोगमा स्वयंसेवक टोली तयार पारिएको छ । दमकल, एम्बुलेन्स, उद्धार टोली र राहत सामग्रीको समन्वय अब एउटै केन्द्रबाट हुनेछ । आचार्यले समग्र पोखराको हितलाई हेरेर काम गरिरहेको बताए । महानगरले बाढी, पहिरो र डुबानको जोखिमबारे वैज्ञानिक नक्सांकन गरेको छ ।
सोही आधारमा विकासका काम अघि बढाइएको छ । महानगरका ३३ वटै वडामा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गरिएको छ । स्थानीय समुदायलाई नै पहिलो प्रतिकार्यकर्ताका रूपमा तयार पारिएको छ । सबै वडाले विपद् व्यवस्थापनका लागि १० प्रतिशत बजेट छुट्याएका छन् । आचार्यले साविक लेखनाथको भवन रहेको ठाउँमा पनि यस्तै केन्द्र खोल्ने योजना सुनाए ।
यो वर्ष महानगरले मनसुन र आगलागीका ६७ घटनाका पीडितलाई राहत दिएको छ । यसबाट १ सय २७ जना व्यक्ति तथा परिवार लाभान्वित भएका छन् । केन्द्रले अब खोज तथा उद्धार सामग्री भण्डारण गर्नेछ । साथै नगर प्रहरी र स्वयंसेवकलाई तालिम दिने काम पनि गर्नेछ । यसका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रेडक्रस र सामाजिक संघसंस्थासँग समन्वय गरिने आचार्यले बताए ।

यसैगरी महानगर प्रमुख आचार्यले पोखरा महानगर वडा नम्बर १७ को नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन विहान नै उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै उनले सुविधा सम्पन्न भवनबाट सेवाग्राहीहरूलाई छिटो छरितो, चुस्त र जबाफदेही सेवा प्रवाहमा जोड दिए । नागरिकहरूलाई गुनासो रहित सेवा प्रवाह आजको आवश्यकता रहेको उल्लेख गर्दै उनले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
वडा अध्यक्ष राधिका शाही योगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख मन्जुदेवि गुरुङ, दलका नेता दिवसमान प्रधानाङ्ग, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, वडा सदस्य विक्रम गुरुङ लगायतले महानगर तथा वडा कार्यालयहरूको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने बताउँदै सुविधायुक्त पूर्वाधारको नतिजा सेवामा देखिनु पर्ने बताए ।
महानगर प्रमुख आचार्यले दिउँसो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अमरसिंह चोकसम्म निःशुल्क विद्युतीय सटल बस सेवाको पनि आरम्भ गराएका छन् । प्रमुख आचार्यले मंगलबार विमानस्थल परिसरमा आयोजित एक कार्यक्रमका बीच यो सेवाको शुभारम्भ गरेका हुन् । अहिलेलाई यो सेवा आगामी असार मसान्तसम्मका लागि निशुल्क गरिएको छ ।
महानगरपालिकाले महानगर यातायात प्रालि काठमाडौं, कृषि विकास बैंक र कामना सेवा विकास बैंकसँगको सहकार्यमा यो सेवा ल्याएको हो । विमानस्थल आउने र जाने हवाई यात्रुलाई भरपर्दो, विश्वसनीय र सरल यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले यो साझेदारी गरिएको हो ।
‘पहिलो चरणमा असार मसान्तसम्मका लागि परीक्षणका रूपमा निशुल्क सेवा सुरु गरेका हौं,’ नगर प्रमुख आचार्यले भने, ‘यसको प्रभावकारिता हेरेर पछि थप परिष्कृत रूपमा सेवालाई निरन्तरता दिइनेछ ।’ उनले भविष्यमा यो सेवा पोखराका अन्य मुख्य गन्तव्यसम्म विस्तार गर्ने योजना रहेको समेत बताए ।

विद्युतीय बस चार्ज गर्नका लागि अहिले पर्यटक बसपार्कमा रहेको चार्जिङ स्टेसनमा आवश्यक व्यवस्था मिलाइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगको समन्वयमा उडानको चाप अनुसार बसको समय तालिका थपघट गर्न सकिनेछ । सटल बस सेवा शुभारम्भ कार्यक्रममा विभिन्न सरकारी अधिकारी र जनप्रतिनिधिहरूको उपस्थिति थियो ।
कार्यक्रममा कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल सहभागी भए । यस्तै नेपाली कांग्रेस दलका नेता दिवसमान प्रधानांग, महानगरका प्रवक्ता मोतीलाल तिम्सिना र कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्की पनि कार्यक्रममा थिए ।
विमानस्थल कार्यालयकी निमित्त प्रमुख जसोदा सुवेदी, विभिन्न वडाका वडाध्यक्षहरू, भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराई, महानगर यातायात प्रालिका अध्यक्ष तथा पदाधिकारी र पर्यटन व्यवसायीहरूले पनि कार्यक्रममा सहभागिता जनाए ।














