काठमाडौं ।
पक्राउ परेको १३ औँ दिनमा प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिम्मा जमानीमा छाडेको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्य र नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणमा रहेका लेखकलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएको छ ।
अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी ओली र लेखकलाई उनीहरुको पत्नीलाई जिम्मा लगाइएको हो। भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरुलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो ।
ओलीलाई प्रहरीले हिरासत मुक्त गरे पनि उनी अस्पतालबाट डिस्चार्ज हुनेबारे चिकित्सकहरूले निर्णय गर्नेछन् ।













