काठमाडौं ।
गृहमन्त्री सुधन गुरुङले फेवातालको जग्गामा आफू नै ठगिएको स्पष्टिकरण दिएका छन् । गृहमन्त्री गुरुङले आफु ठगीएको दाबी सहित न्यायका लागि अदालत जाने बताएका छन् ।
फेवातालको किनारमा ’एड्भेन्चर स्पोर्ट्स नेपाल’ सुरु गर्नका लागि मन्त्री गुरुङ सहित तीन जनाले जग्गा लिजमा लिएका थिए । उक्त जग्गा फेवातालको मापदण्ड बाहिर रहेको भनेर आफूलाई झुक्याएर लिजमा दिइएको उनले बताएका छन् । फेवाताल अतिक्रमित गरिएको जग्गा स्वयं गृहमन्त्रीले लिजमा लिएको भेटिएपछि उनी विवादमा तानिएका छन् ।
फेवाताल अतिक्रमित गरेर बनाइएका संरचनामा पोखरा महानगरले भत्काउन थालेपछि मन्त्री गुरुङले स्पष्टीकरण दिएका छन् । ‘हामीलाई जग्गाधनीहरूले उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए । लालपूर्जामा समेत जग्गा सुरक्षित रहेको भनी देखाए । तर, पछि नगरपालिकाबाट बुझ्दा त्यो त मापदण्डभित्र पर्ने रहेछ,’ मन्त्री गुरुङले भनेका छन् । अतिक्रमित जग्गा भन्ने तथ्य लुकाई झुक्याइ लिजमा दिँदा आफू सहित साझेदार ठगिएको गुरुङको दाबी छ ।
अतिक्रमित जग्गा आफूहरुलाई झुक्याएर लिजमा दिएको जानकारी प्राप्त हुनासाथ निर्माण कार्य र लगानी रोकेको मन्त्री गुरुङले दाबी गरे । मन्त्री गुरुङले ठगीविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् । ‘हामीलाई पर्न गएको यो अन्याय र ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्ने जानकारी गराउँदछु,’ गुरुङले भने ।













