काठमाडौं ।
आज हुने भनिएको कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाई स्थगित भएको छ ।
कांग्रेस गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको मुद्दाको सुनुवाइ स्थगित भएको हो।
सर्वोच्च अदालतले कांग्रेस विवादको मुद्दामा आजका लागि पेसी तोकेकोमा सुनुवाइका लागि इजलास नतोकिएको हो । यसअघि सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
२०८२ माघ ६ मा न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोगसहितको नाममा लिखित जवाफ पेस गर्न आदेश जारी गरेको थियो । निर्वाचन आयोग,नेपाली कांग्रेस पार्टी कार्याल र सभापति गगन थापाले लिखित जवाफ पेस गरेसँगै सुनुवाइका लागि पेसी तोकिएको थियो ।
गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद भएको थियो । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अदालतमा रिट दर्ता गराएका थिए ।
रिट निवेदनमा कांग्रेस नेता देउवा र पूर्णबहादुर खड्काको वारेसले श्रवणकुमार श्रेष्ठले दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको भन्दै भङ्ग गर्न माग गरिएको छ ।
देउवा पक्षले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने उल्लेख गर्दै विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ ।













