संघ सरकारले संविधान विपरीत जारी गर्ने परिपत्र मान्न प्रदेश सरकार बाध्य छैन : मुख्यमन्त्री पाण्डे

केन्द्रभाग मिडिया

बागलुङ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले गरेका पछिल्ला अव्यवहारिक कामको विरोध गरेका छन् । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आयोजना गरेको बाग्लुङ मिडिया मेला उद्घाटन गर्दै उनले सरकारी कार्यालयका विज्ञापन सरकारी सञ्चार माध्यमलाई दिन भएको परिपत्रको विरोध गरेका हुन् ।

सरकारी सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापन वा सूचना दिने कुरा केही समय टिके पनि लामो समय टिक्न नसक्ने उनको दाबी छ । कलम स्वतन्त्र परिवेशमा जस्तै चाल्नुपर्ने चर्चा गरेका उनले संविधान र संघीयताको बर्खिलाप हुने गरी संघ सरकारले जारी गरेका परिपत्र पालना गर्न प्रदेश सरकार बाध्य नहुने प्रष्ट पारेका छन् ।

संघ सरकारले अनावश्यक रुपमा प्रदेश र स्थानीय सरकारलाई हस्तक्षेप गर्न नपाउने उनको जिकर छ ।
सरकारी सञ्चार माध्यमले प्रतिस्पर्धा गर्न नपर्ने कुरा गलत रहेको भन्दै लोकतन्त्रमा सबैले स्वच्छ प्रतिस्पर्धा गर्न पाउने धारणा राखे ।

मुख्यमन्त्री पाण्डेले एसईईको उत्तरपुस्तिका परीक्षा केन्द्रले जाँच्ने कुरा पनि व्यवहारिक नभएको बताए । उनले कपि जाँच्नेलाई परीक्षार्थीले चिन्न नहुने तर्क गरे ।

सरकारले लोकप्रियताका नाममा गलत निर्णय गर्न नहुने उनको प्रष्टोक्ति थियो ।

पत्रकार पत्रकारिता र सञ्चारमाध्यमसँग सम्बन्धित विविध विषयमा छलफल र बहस हुने बाग्लुङ मिडिया मेला दुई दिनसम्म चल्नेछ ।

  • २० चैत्र २०८२, शुक्रबार १३:३१ प्रकाशित