देशभर एसईई सुरु, गण्डकीमा ४३ हजार भन्दा धेरै विद्यार्थी सहभागी

केन्द्रभाग मिडिया

नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ ।

यस पटकको एसईईमा देशभर र वैदेशिक केन्द्रसहित गरी ५ लाख १२ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षालाई विगतको तुलनामा थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष रणनीतिक योजना बोर्डले अघि सारेको छ ।

परीक्षामा ‘उत्तरपुस्तिका परीक्षणको विकेन्द्रीकरण’ र ‘नतिजामा तीव्रता’ अभ्यास गर्न लागेको बोर्डले जनाएको छ । सरकारले विद्यार्थीको भविष्य र समयलाई मध्यनजर गर्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको निर्देशन अनुसार बोर्डले यस वर्षदेखि उत्तरपुस्तिका परीक्षणको परम्परागत शैलीमा परिवर्तन गरेको छ । विगतका वर्षहरूमा एक प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा पठाउने र गोप्य केन्द्रहरू तोकेर परीक्षण गर्ने प्रचलन थियो । यसले गर्दा ओसारपसार र समन्वयमा धेरै समय खर्च हुने गर्थ्यो । तर यस वर्ष बोर्डले जुन परीक्षा केन्द्रमा परीक्षा भएको हो । सोही क्षेत्रका परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गरेको छ ।

एसईईका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजालाई छिटोभन्दा छिटो सार्वजनिक गर्ने प्राथमिकता रहेको छ । उनले मन्त्रालयको निर्देशन र विद्यार्थीको हितलाई ध्यानमा राख्दै हामीले यस पटक सम्बन्धित जिल्ला वा क्षेत्रकै परीक्षा केन्द्रलाई आधार मानेर परीक्षण केन्द्र कायम गर्ने निर्णय गरेको बताए । यसले गर्दा उत्तरपुस्तिका ओसारपसारमा लाग्ने समय बचत हुने र स्थानीय शिक्षकहरूको प्रत्यक्ष संलग्नतामा काम छिटो सकिने बोर्डले अपेक्षा गरेको छ ।

गण्डकीबाट ४३ हजारभन्दा धेरै परीक्षार्थी सहभागी

यस वर्ष गण्डकी प्रदेशमा ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागी भएका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विकास महाशाखा, पोखराका अनुसार प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेडवृद्धि समूहका विद्यार्थीहरू परीक्षामा सहभागी भएका हुन् ।

जिल्लागत विवरणअनुसार कास्कीमा सबैभन्दा धेरै १० हजार ८ सय ४३ विद्यार्थी सहभागी छन् । त्यसपछि तनहुँमा ६ हजार १ सय ५५, नवलपुरमा ६ हजार ७ सय १२, स्याङ्जामा ४ हजार २ सय ८८ र बागलुङमा ४ हजार २ सय ३९ विद्यार्थी छन् । त्यस्तै गोरखामा ३ हजार ७ सय ९७, लमजुङमा २ हजार ८ सय ६२, पर्वतमा २ हजार २ सय १७ र म्याग्दीमा २ हजार २२ विद्यार्थी सहभागी छन् । सबैभन्दा कम मनाङमा ३४ र मुस्ताङमा १ सय ८६ जना विद्यार्थी रहेको विवरणमा उल्लेख छ ।

  • १९ चैत्र २०८२, बिहीबार ०८:०९ प्रकाशित