काठमाडौं ।
नेकपा एमालेले आफ्नो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ विरुद्धको आन्दोलनको मोडालिटी परिवर्तन गरेको छ । आज बसेको सचिवालय बैठकले आन्दोलनको मोडालिटी परिवर्तन गरेको उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार सचिवालय बैठकले वडा तहसम्मको कमिटी परिचालन गर्ने निर्णय गरेकोछ ।
उपाध्यक्ष गुरुङले २५ चैतमा जिल्ला भेला गर्ने निर्णय र २८ चैतमा ७५३ वटै पालिकास्तरीय विरोध प्रदर्शन, ३ वैशाखमा ६ हजार ७४३ वटा कमिटीको भेला आयोजना गर्ने निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार ७ वैशाखमा प्रदेशका राजधानीहरूमा प्रदर्शनको कार्यक्रम तय भएको छ । आगामी १२ वैशाखमा काठमाडौं उपत्यकास्तरीय भेला, प्रदर्शनको तयारी गरिएको उपाध्यक्ष गुरुङले बताए ।
गत २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक मानिस मारेको अभियोगमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली गत शनिबार निवासबाटै पक्राउ परेका थिए ।
उपाध्यक्ष गुरुङले आन्दोलन अपरिहार्य रहेको र यसको प्रभावकारिता बढाउन मोडालिटी परिवर्तन गरिएको बताए । ‘आन्दोलन अनिवार्य छ । यसलाई थप प्रभावकारी बनाउन नै हामीले मोडालिटी परिवर्तन गरेका हौं’ उनले भने ।












