पोखरा ।
पोखरा बसपार्कमा ओर्लने यात्रुलाई लक्षित गरेर पोखरा महानगरपालिकाले एकैपटक २५ जनाले प्रयोग गर्न मिल्ने सौचालय र स्थान गृह सञ्चालनमा ल्याउने भएको छ । पोखरा बसपार्कको उत्तर पश्चिम भागमा निर्माण भइरहेको पोखरा घरको भुइँतलामा यात्रुका लागि महानगरले सौचालय र स्नान गृह निर्माण गरेको हो ।
निर्माण भइरहेको पोखरा घरको भुईतलामा सौचालय र बाथरुम निर्माण भइरहेको पोखरा महानगरपालिका भवन तथा पूर्वाधार शाखाका प्रमुख ई। लक्ष्मी प्रसाद गौतमले जानकारी दिए । पोखरा घरको सुरुवाती डिजाइन नै परिवर्तन गरेर यात्रुको आवश्यकतालाई मध्यनजर गरेर सौचालय र स्नानगृह निर्माण गरिएको उनले बताए । ‘पोखरा बसपार्कमा ओर्लने यात्रुलाई सौचालय जान र स्थान गर्न परेको अप्ठ्यारो महसुस् गरेर महानगरले पोखरा घरको सुरुवाती डिजाइन नै परिवर्तन गरेर सौचालय र स्नानगृह निर्माण गरेको हो,’ उनले भने ।
उनका अनुसार पोखरा बसपार्क ओर्लने यात्रुले अबको एक महिनामा ति सौचालय र स्नान गृह प्रयोग गर्न पाउनेछन् । अहिले पोखरा घरसहित सौचालय र स्नानगृहलाई सम्पन्न गर्ने चरणमै रहेको उनले बताए ।
सौचालय र स्नान गृह प्रयोगकर्ताले त्यसको सरसफाई अनि व्यवस्थापनका लागि न्युनतम शुल्क भने तिर्नुपर्ने व्यवस्था गर्ने सोचमा महानगर रहेको ई.गौतमले बताए ।
महानगरले निर्माण गरेको पोखरा घरमा बाहिरबाट आएका वा पोखराबाट बाहिर जाने यात्रुले आफूलाई रिफ्रेस गरेर पुस्तकालय पढ्न, आर्ट ग्यालरीमा अबलोकन गर्न र चाहनेले कोशेली समेत किनेर लैजान पाउने छन् । महानगरले सौचालय र स्नानगृहसहितिको निर्माण गरिरहेको पोखरा घर अण्डर ग्राउण्डसहित पाँच तलाको बनेको छ । उक्त भवनमा अण्डर ग्राउण्डमा पार्किङ स्थल छ ।
पहिलो तलामा कोसेली घर र सूचना केन्द्रसहित २५ जनाले एकैपटक स्नान र सौच गर्न मिल्नेगरी बाथरुम र ट्वाइलेट निर्माण गरिएको छ । दोस्रो तलामा पुस्तकालय र मिटिङ हल, तेस्रो तलामा आर्ट ग्यालरी र मिटिङहल रहने छ । त्यस भन्दा माथि घण्टा घर रहने छ ।














