ओली पक्राउ विरुद्ध एमालेले आज ७७ वटै जिल्लामा विरोधपत्र बुझाउँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज सबै जिल्लामा विरोधका कार्यक्रम गर्ने भएको छ । आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम रहेको नेकपा एमालेका सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार आज मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय भएको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक चैत १४ गते शनिबार झिसमिसेमै पक्राउ परेका थिए ।

लगत्तै बसेको सचिवालयको आकस्मिक बैठकले तत्काल रिहाइको माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो । पार्टीको निर्णय अनुसार एमाले कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिँदा शनिबार दिनभर संघीय राजधानी काठमाडौं र केही सहरहरुमा समेत तनाव उत्पन्न भएको थियो ।

एमालेले ओली र लेखकको गिरफ्तारी ‘गैरकानुनी’ र पूर्वाग्रही भएको जिकिर गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

  • १५ चैत्र २०८२, आईतवार ०९:५३ प्रकाशित