चोरीका सुन चाँदीका गरगहना, नगद र धारिलो हतियारसहित काठमाडौंमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं, बूढानीलकण्ठ नगरपालिका २ घर भएका वर्ष २३ का उपेन्द्र खत्री, कैलाली, गौरीगंगा नगरपालिका २ घर भएको वर्ष २६ का निरज सापकोटा रहेका छन् ।
काठमाडौं महानगरपालिका ५ कालोपुल लामा गल्ली स्थित एक डेरा कोठामा काठको दराज भित्र रहेको अन्दाजी २६ तोला ८ आना बराबरको सुनका गरगहना, ३३ हजार मूल्य बराबरको चाँदीका गहना तथा सामाग्री र भारतीय १०,००० रुपैयाँ तथा नेपाली ४५,००० हजार रुपैया चोरी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । हिजो चैत ७ गते राती ९ बजेर ५० मिनेटको समयमा चोरी भएको खबर प्रहरीले पाएको बताइएको छ ।
पक्राउ परेका दुई जनाको साथबाट ३ थान तिलहरी, एउटा सिक्री,एउटा नेकलेस, ३ वटा बाला, एकजोर झम्का,८ वटा नौगेडीमा प्रयोग हुने गोटी, एउटा जन्तर,सुनको जस्तो देखिने स–साना २५ वटा टुक्रा,
एउटा फुली, दुईवटा चाँदीको बाला, एउटा चाँदीको सानो थाली, एकजोर चाँदीको पाउजु, एउटो चाँदीको औँठी, एउटा चाँदीको पत्थर भएको औँठी, दुई वटा धातुको चुरा, एउटा धारिलो हतियार खुकुरी , दुईवटा फलामको रड, २.८ फिट लम्बाइ भएको तरबार थान, दुई लाख उनन्चास हजार नगद र चोरी गर्दा प्रयोग भएको होण्डा कम्पनीको स्कुटर बरामद भएको प्रहरीले जानकारी दिएको छ ।













