काठमाडौं ।
ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको ज्यान गएको छ । आइतबार बिहान ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्ने रुकुमकी ५५ वर्षीय तिल्सरी खड्काको ज्यान गएको हो ।
पर्खाल भत्किएर गम्भीर घाइते भएकी खड्काको ठैबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सो घटनामा ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा रुकुम घर भई सोही इँट्टाभट्टामा काम गर्ने २७ वर्षीय जानकी चन्द, सल्यानकी २७ वर्षीय शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीय नन्दकुमारी मगर र दाङकी १९ वर्षीय सुमा कुमाल रहेका छन् । गम्भीर घाइते चन्दलाई भने थप उपचारका लागि मोडल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
अहिले प्रहरी वृत्त सातदोबाटोबाट खटिएका प्रहरी टोलीले उद्धारको काम गरिरहेको जनाइएको छ ।














