पोखरा ।
पोखरा महानगरपालिका वडा नं–९ पृथ्वीचोकमा पुस्तकालय, आर्ट ग्यालरी र कोशेली घरसहितको पोखरा घरको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माण सम्पन्न भएसंगै पोखरा घरलाई सञ्चालनको तयारी अगाडि बढाइएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिउका छन् । परम्परागत र आधुनिक शैली दुबै शैली मिलाएर पोखरा घर निर्माण भएको र यो पोखराको गौरवको रुपमा रहने उनले बताए ।
भवन निर्माणको काम अन्तिम चरणमा पुगेको र अब विजुलीको काम र घडी राखेलगत्तै पोखरा घर निर्माण सम्पन्न हुने पोखरा महानगरपालिका भवन तथा पूर्वाधार शाखाका प्रमुख ई. लक्ष्मी प्रसाद गौतमले बताए ।
भवनको २७ फागुन २०८० मा पोखरा महानगरका प्रमुख धनराज आचार्यले शिलान्यास गरेका थिए । शिलान्यास भएको दुई वर्षमा भवन निर्माण गरेर सञ्चालनको तयारी गरिएको हो । अण्डर ग्राउण्डसहित पाँच तलाको बनेको उक्त भवनमा अण्डर ग्राउण्डमा पार्किङ स्थल रहेको छ ।
पहिलो तलामा कोसेली घर र सूचना केन्द्रसहित २५ जनाले एकैपटक स्नान र सौच गर्न मिल्नेगरी बाथरुम र ट्वाइलेट निर्माण गरिएको छ । पोखरा बसपार्क ओर्लने यात्रुलाई लक्षित गरेर ति ट्वाइलेट र बाथरुम निर्माण गरिएको हो ।
दोस्रो तलामा पुस्तकालय र मिटिङ हल, तेस्रो तलामा आर्ट ग्यालरी र मिटिङहल रहने छ । त्यस भन्दा माथि घण्टा घर रहने छ । पोखराको कला संस्कृति र आधुनिक मोडेल समेत झल्कने गरी पोखरा घर निर्माण गरिएको ई. गौतमले बताए । ‘हामीले यो घर निर्माण गर्दा बार्दलीसहितको पोखराको पुराना कला र संस्कृति झल्कने मोडेल र आधुनिक मोडेल दुबै अपनाएका छौं,’ उनले भने ।












