‘मुग्लिन–काठमाडौं’ सडक दशैं अगाडि सञ्चालन ‘असम्भव’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नागढुंगा–मुग्लिन सडक खण्डअन्तर्गत कृष्णभीरमा गएको ठूलो पहिरोका कारण अवरुद्ध बनेको सडक तत्काल सोही स्थानबाट सञ्चालनमा आउन नसक्ने भएको छ ।

पहिरोको प्रकृति हेर्दा यसको स्थायी मर्मत तथा पुनर्निर्माण गर्न करिब एक वर्ष लाग्न सक्ने भएकाले दशैं अगाडि सञ्चालन हुन नसक्ने नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रले बताए ।

उनका अनुसार नदीको सहतबाटै ठुलो पहिरो खसेकाले सो स्थानबाट तत्काल सडक खुलाउन सक्ने अवस्था छैन ।कृष्णभीरको पहिरो निकै ठुलो छ, नदीको सतहदेखि नै पहिरो गएको छ । यसलाई स्थायी रूपमा मर्मत गर्न अध्ययन, विस्तृत डिजाइन र टेन्डर प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लाग्छ । त्यसैले दशैं अगाडि यो स्थानबाट सडक चल्ने सम्भावना छैन,’ सूचना अधिकारी मिश्रले भने ।

आइतबार त्रिशुलीमा आएको बाढीले कृष्णभीर सडक कटान गरेको थियो । यससँगै मुग्लिन काठमाडौँ सडक पूर्ण रुपमा अवरुचद्ध बनेको छ ।
सूचना अधिकारी मिश्रका अनुसार यसअघि कृष्णभीरमा यसअघि पहिरोको जोखिम देखिएकाले मर्मतको कार्य भइरहेको थियो । यस जोखिम क्षेत्रको मर्मतका लागि ‘भर्टिकल पाइलिङ’को काम सम्पन्न भइसकेको थियो भने ‘होरिजन्टल एन्करिङ’को काम बर्खापछि गर्ने तयारी थियो । तर आधा मात्र काम भएको अवस्थामा फेरि ठुलो पहिरोले क्षति पुर्‍याएको छ ।

सडक तत्काल सञ्चालन हुन नसक्ने भएपछि यात्रु तथा सवारी आवागमन सहज बनाउन अहिले वैकल्पिक मार्गको खोजी तथा अध्ययन भइरहेको छ । सूचना अधिकारी मिश्रले भने, ‘तत्कालका लागि हाम्रो ध्यान वैकल्पिक रुटमा केन्द्रित छ । विभिन्न प्राविधिक टोलीहरू परिचालन गरेर २–४ वटा वैकल्पिक मार्गहरूको निरीक्षण भइरहेको छ । टोलीको मूल्यांकनपछि सबैभन्दा छोटो र उपयुक्त वैकल्पिक रुट तय गरिनेछ ।’

  • १५ भाद्र २०८३, सोमबार १४:२७ प्रकाशित