गगन थापाको राजीनामा अस्वीकृत गर्ने पक्षमा कांग्रेस पदाधिकारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका पदाधिकारीहरू सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने पक्षमा देखिएका छन् ।

केन्द्रीय कार्यसमितिको शुक्रबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा पदाधिकारीहरूले सभापति थापाको कार्यभार नसकिएको भन्दै राजीनामा बैठकबाट अस्वीकृत गर्नुपर्ने बताएका हुन् ।

बैठकस्थलमा उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र सहमहामन्त्री उदय शमशेर राणाले राजीनामा अस्वीकृत गर्ने तयारी रहेको बताएका हुन् ।

उपसभापति शर्माले बैठकस्थलमा सञ्चारकर्मीको सभापति थापाको राजीनामा के हुन्छ भन्ने प्रश्नमा बैठकले आवश्यक निर्णय लिने बताए । शर्माले बिहीबार साँझ सामाजिक सञ्जाल एक्समा थापाको राजीनामा केन्द्रीय कार्यसमितिले अस्वीकृत गर्ने लेखेका थिए ।

महामन्त्री गुरुराज घिमिरेले पनि सभापति गगन थापाको कार्यभार नसकिएकोले राजीनामा स्वीकृत नगर्ने पक्षमा आफूहरू रहेको सञ्चारकर्मीहरूलाई बताए ।

 घिमिरेले देशैभरबाट सभापतिको विकल्प नखोजिएको भन्दै फिर्ता लिन आग्रह गर्ने र अस्वीकृत गर्ने बताए ।सहमहामन्त्री उदयशमशेर राणाले देशभरका कांग्रेस कार्यकर्ता, शुभचिन्तक कसैले पनि सभापति थापाको राजीनामा नचाहेको बताए ।

  • ६ चैत्र २०८२, शुक्रबार १५:१९ प्रकाशित